‘भावी प्रधानमन्त्री ओली कि देउवा भन्नेमा मंसिर ४ गते जनमत संग्रह हुन्छ’ -महासचिव पोखरेल

‘भावी प्रधानमन्त्री ओली कि देउवा भन्नेमा मंसिर ४ गते जनमत संग्रह हुन्छ’ -महासचिव पोखरेल

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेका महासचिव शंकर पोखरेलले पाँच दलीय गठबन्धनसँग चुनावमा जाने नेतृत्व नभएको बताएका छन् । 

शुक्रवार काठमाडौंमा आयोजित राष्ट्रिय युवा संघको प्रचार भेलालाई सम्बोधन गर्दै उनले गठबन्धनको कुनै लक्ष्य, उद्देश्य, गन्तव्य र चुनावमा जाने नेतृत्व नभएको टिप्पणी गरेका हुन् । उनले गठबन्धनले भविष्यको प्रधानमन्त्री को हो भनेर समेत भन्न नसक्ने दाबी गरे । 

महासचिव पोखरेलले नेपाल लोकतन्त्रमा प्रवेश गरिसकेको भन्दै अब धेरै राजनीतिक दलहरुको आवश्यकता नरहेको जिकिर गरे । उनले जति धेरै राजनीतिक दलहरु भए त्यति नै धेरै नीतिगत विचलन, राजनीतिक अस्थिरता, स्वार्थहरुको सम्झौता हुने उल्लेख गर्दै नेकपा एमाले मुलुकलाई त्यसबाट मुक्त गर्न मुलुकलाई राजनीतिक ध्रुवीकरणको दिशाबाट अघि बढाएर बलियो राष्ट्रिय शक्ति बनाउनेतर्फ लागेको बताए ।  

‘गठबन्धनको कुनै लक्ष्य, उद्देश्य, गन्तव्य छैन, गठबन्धनसँग चुनावमा जाने नेतृत्व पनि छैन । भविष्यको प्रधानमन्त्री को हो ? भन्न सक्दैन ५ दलीय गठबन्धन । अब नेपाल, लोकतन्त्र, गणतन्त्रको युगमा प्रवेश गरेका बेलामा अब धेरै राजनीतिक दलहरुको आवश्यक्ता छैन । जति धेरै राजनीतिक दलहरु, त्यति धेरै नीतिगत विचलन, जति धेरै राजनीतिक दलहरु त्यति धेरै राजनीतिक अस्थिरता, स्वार्थहरुको सम्झौता, त्यसबाट मुलुकलाई मुक्त गर्नको लागि अब राजनीतिक ध्रुवीकरण जरुरी छ ।’ उनले भने, ‘मुलुकलाई यो ध्रुवीकरणको दिशाबाट अघि बढाएर एउटा बलियो राष्ट्रिय शक्तिको रुपमा नेकपा एमालेलाई स्थापित गर्ने अभियानका रुपमा आउँदै गरेको निर्वाचन २०७९ हो । जुन निर्वाचनका माध्यमबाट मंसिर ४ गते नयाँ युग तर्फको आरम्भ गर्दैछौँ । अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा त्यो अभियानमा अब युवाहरु अघि बढ्न जरुरी छ ।’

उनले थपे- ‘म गठबन्धनका नेताहरुलाई भन्न चाहन्छु, नेकपा एमाले मुलुकको भविष्यको नेतृत्व गर्नको लागि पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भावि प्रधानमन्त्रीको रुपमा जनताका बीचमा लिएर जाँदैछ । ५ दलीय गठबन्धनको भविष्यको प्रधानमन्त्री को हो ? घोषणा गर्नका लागि म आह्वान गर्न चाहन्छु । ५ दलीय गठबन्धन आफ्नो उद्देश्य प्रस्तुत गर्ने सामर्थ्य राख्दैन । न नेता दिनसक्छ, न नीति दिनसक्छ । तिनीहरुको माध्यमबाट देशको भविष्य बन्न सक्दैन ।’ 

महासचिव पोखरेलले अब मुलुकलाई नयाँ बाटोमा लैजानुपर्ने आवश्यक्ता रहेको बताए । उनले नेकपा एमालेको बिरुद्धमा चौतर्फी घेराबन्दी भइरहेको भन्दै गठबन्धनले गरेको घेराबन्दी जनताको जीवनमा परिवर्तन ल्याउनका लागि नभएको जिकिर गरे ।  

उनले देश केपी ओलीको नेतृत्वमा अघि बढ्ने हो वा शेरबहादुर देउवाको नेतृत्वमा अघि बढ्छ भन्नेकुरा आगामी मंसिर ४ गते जनमत संग्रह हुने बताए । उनले नेपाली काँग्रेसलाई देशको यथास्थितिको प्रतिनिधिमुलक पात्र भएको आरोप पनि लगाए । काँग्रेसको नेतृत्वमा परिवर्तन र समृद्धिको अपेक्षा गर्न नसकिने उनको भनाई थियाे । 
 

Logo