राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वअध्यक्ष डा. प्रकाशचन्द लोहनीले वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई आगामी निर्वाचनमा विजयी गराउन जनतालाई आग्रह गरेका छन् ।
शुक्रबार काठमाडौं क्षेत्र नम्बर १ मा मिश्रको प्रतिनिधिसभा सदस्य उम्मेदवार घोषणा कार्यक्रममा सहभागी नेता लोहनीले ठूला दलहरु देश र जनताका लागि नालायक भएकाले पनि आगामी निर्वाचनमा नेपाली जनताले त्यसको विकल्पमा आफ्नो पार्टीलाई विजयी गराउनुपर्ने जिकीर गरे ।
उनले भने, ‘तपाईँहरुले एकपटक विचार गर्नुहोस् कि क्यान्टोनमेन्टमा अरबौं लिने, ललिता निवासमा भ्रष्टाचार गर्ने वा ओम्नीसँग औषधिमा कमिशन खानेहरुबाट, त्यही समूहलाई, त्यही संस्कारलाई, त्यही दृष्टिलाई समर्थन गरेर अनि के नेपालमा गतिशीलता आउँछ ? आउँदैन । त्यसलाई चुनौति दिने बेला आएको छ अहिले । तिमी नालायक हौं, यो देशलाई माथि उठाउँछौं भन्ने नारा लिएर बास्तवमा तिमीहरुले यो देशको शोषण गरेका छौं तिमीहरुले । तिमीहरुलाई बाहिर पठाउँछौं भनेर भन्ने मौका अहिले आएको छ । र, त्यो भन्ने भनेको सूरु गर्नुस् काठमाडौं क्षेत्र नम्बर १ बाट । यस क्षेत्रबाट एउटा सत्य र इमान्दारितालाई बोकेको, यो देशमा केही गरौं भन्ने आँट लिएर आएको मान्छे, शिक्षित र पढेलेखेको मान्छे । पैसाको लोभले होइन, सत्ताको लोभले होइन । नेपाली जनताको लागि मैले केही गर्नुपर्छ भन्ने दृष्टिकोणलाई बोकेर आएको मान्छे, त्यस्ता उम्मेदवारलाई तपाईँहरुले सर्पोट गर्नुप-यो, बल दिनुप-यो । अनि परिवर्तनका श्रृखलाहरु देशमा हुन सक्छन ।’
लोहनीले अरबौंको भ्रष्टाचारमा मुछिएकाहरुलाई नेपाली जनताले फेरी पनि निर्वाचनमा विजयी गराएर गल्ती गर्न नहुने पनि बताए ।





























प्रतिक्रिया