यी चर्चित अनुहारः कोहीले पार्टीबाट टिकट नै पाएनन्, कोही पाए पनि लडेनन्

यी चर्चित अनुहारः कोहीले पार्टीबाट टिकट नै पाएनन्, कोही पाए पनि लडेनन्

केन्द्रबिन्दु
0
Shares

आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि चर्चित नेताहरूले टिकट पाएनन् । पार्टीभित्र र बाहिर पनि चर्चामा रहने नेताहरूलाई आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि पार्टीले नै टिकट नदिएको हो । 

पार्टीबाट टिकट नपाएपछि केहीले स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन् भने केहीले युवाका लागि आफू उम्मेदवार नबनेको बताउँदै आफ्नो बचाउ गरेका छन् । 

सभामुख अग्नि सापकोटा उम्मेदवार बनेका छैनन् । उनले युवाका लागि छाडिदिएको बताए । २०७४ सालको निर्वाचनमा सिन्धुपाल्चोक १ बाट निर्वाचित उनी यसपटक उम्मेदवार नै बनेनन् । उनले आफ्ना भतिज माधव सापकाेटालाई उम्मेदवार बनाए ।

नेपाल समाजवादी पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई यसपटक चुनावी मैदानमा उत्रिएनन् । युवालाई छाडेको बताएका भट्टराईले आफ्नो निर्वाचन क्षेत्र गोरखा २ मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सहयोग गर्ने भएका छन् । डा. भट्टराईले आफ्नी छोरी मानुषी यमी भट्टराईलाई काठमाडौं ७ बाट उम्मेदवार बनाएका छन् । 

यसैगरी एमालेका भीम रावल, घनश्याम भुसाल, रामवीर मानन्धर, गंगा चौधरीले टिकट पाएनन् । पार्टीले टिकट नदिएपछि भुसालले रुपन्देही १, रामवीर मानन्धरले काठमाडौं ७ र गंगा चौधरीले दाङ १ बाट स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन् । 

 

एमालेका उपाध्यक्षहरू रामबहादुर थापा बादल, अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवाली, उपमहासचिव विष्णु रिमाल, सल्लाहकार परिषद्का अध्यक्ष अमृत बोहरा, स्थायी कमिटी सदस्य राधा ज्ञवाली, विन्दा पाण्डे, थममाया थापा, शिवमाया तुम्वाहाम्फे, सीताकुमारी पौडेललगायत पनि उम्मेदवारका रूपमा देखिएनन् ।

कांग्रेसका डा. मीनेन्द्र रिजाल, अमरेशकुमार सिंह, डा. रामशरण महत, केबी गुरुङ,  सुनिलकुमार भण्डारी, उमा रेग्मी, मीना पाण्डे, सीतादेवी यादव, महेश आचार्य, लक्ष्मण घिमिरे, विनयध्वज चन्द, मीन विश्वकर्मा, शेषनाथ अधिकारी, हरि नेपालले पनि टिकट पाएनन् । सिंहले भने सर्लाही ४ बाट स्वतन्त्र उम्मेदवारी दिएका छन् । रिजाल र महत समानुपातिकमा समेत परेनन् ।

माओवादीका अग्नि सापकाेटासहित कृष्णबहादुर महरा, हरिबोल गजुरेल, लीलामणि पोखरेल, देवेन्द्र पराजुली, लेखनाथ न्यौपाने, हिमाल शर्मा, हेमराज भण्डारीले पनि पार्टीबाट टिकट पाएनन् । भण्डारीले धनकुटाबाट स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन् । अरुले उम्मेदवारी नै दिएनन् ।

मुख्यमन्त्री भइसकेका एमालेका डोरमणि पौडेल र माओवादीका त्रिलोचन भट्टले पनि यसपटक टिकट पाएनन् । लुम्बिनी प्रदेशका मुख्यमन्त्री रहेका कुलप्रसाद केसीलाई पनि माओवादीले टिकट दिएन । 

एकीकृत समाजवादीका महासचिव डा. विजय पौडेल, स्वास्थ्य तथा जनसंख्यामन्त्री रहेका भवानीप्रसाद खापुङ, हीराचन्द्र केसीले पनि टिकट पाएनन् । 

निर्वाचन आयोगले आइतबार बिहान १० देखि साँझ ५ बजेसम्म सम्बन्धित मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवार आफैं वा उम्मेदवारका प्रतिनिधि र वारेसनामाबाट पनि मनोनयनपत्र दर्ता गर्न सकिने व्यवस्था गरेको थियो । सो अवधिमा प्रतिनिधि सभामा कुल २१२८ जनाले उम्मेदवारी दिएका छन् । जसमा १९३७ जना पुरूष र १९१ जना महिला छन् । प्रदेश सभातर्फ २६०० पुरूष, २४४ महिला र एक जना अन्य गरी २८४५ जनाको उम्मेदवारी दर्ता भएको आयोगले जनाएको छ ।

यस निर्वाचनका लागि मतदाता नामावलीमा १ करोड ७९ लाख ८८ हजार ५७० मतदाता संख्या छ । यसमा पुरुष मतदाताको संख्या ९१ लाख ४० हजार ८०६, महिला मतदाताको संख्या ८८ लाख ४७ हजार ५७९ र अन्य १८५ छ । निर्वाचनका लागि देशभर १० हजार ८९२ मतदानस्थल र सोअन्तर्गत २२ हजार २२७ मतदान केन्द्र कायम गरिएको छ ।

Skip This
Skip This
Logo