उम्मेदवारको नामावली प्रकाशन आज, अन्तिम भोली

उम्मेदवारको नामावली प्रकाशन आज, अन्तिम भोली

केन्द्रबिन्दु
0
Shares

मंसिर ४ मा हुने निर्वाचनको कार्यतालिका अनुसार आज उमेदवारको नामावली प्रकाशन गरिने भएको छ । 

निर्वाचन आयोगले आज साँझ ५ देखि ७ बजेसम्म उमेदवारको नामावली प्रकाशन गरिने जनाएको छ । भोलि विहान १० देखि १ बजेसम्म उमेदवारले नाम फिर्ता लिने दिन तोकिएको छ । बुधबार नै ३ बजेभित्र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र ४ देखि ५ बजेभित्र उमेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने निर्वाचन कार्यतालिका छ । 

प्रत्यक्षतर्फ उम्मेदवारी दिएकाहरूको उजुरीमाथि भने  सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयले छानबिन गर्ने जनाएको छ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले मनोनयन उम्मेदवारी दिएकाहरूको उजुरीको छानबिन सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयले नै टुङ्गो लगाउने गरी आवश्यक व्यवस्था मिलाइएको बताउनुभयो । आयोगले उम्मेदवारहरूमाथि परेको उजुरी पुष्टि हुने प्रमाण भेटिए उनीहरूको उम्मेदवारी स्वतः रद्द हुने जनाएको छ ।

प्रतिनिधिसभा र प्रदेश सभाका लागि उम्मेदवार बिरुद्ध परेको उजुरीवारे जवाफ दिनका लागि आज समयसिमा तोकिएको छ । २३ असोजमा उम्मेदवारी दिएका उम्मेदवार बिरुद्ध २४ असोजमा परेको उजुरीको जवाफ दिनका लागि आज अपरान्ह २ बजेसम्मको समयसिमा तोकिएको हो । प्रधानमन्त्री शेरबहादुर देउवा, पुर्व उपप्रधानमन्त्री बिजयकुमार गच्छेदारसहितका उम्मेदवार बिरुद्ध परेको छ ।

देशैभरीका उम्मेदवार माथी परेको उजुरी पछि आयोगले सो उजुरीका बारेमा आजै जवाफ दिन सबन्धित उम्मेदवारलाई सुचना टाँस गरी सवन्धित निर्वाचन कार्यालयले जानकारी गराएको छ । प्रतिनिधि सभातर्फ प्रत्यक्षमा १६५ निर्वाचन क्षेत्रमा कूल दुई हजार पाँच सय २६ जनाले उम्मेदवारी दर्ता गरेका छन् ।

यीमध्ये पुरूष दुई हजार दुई सय ९१ र महिला दुई सय ३५ जनामात्रै छन् । प्रदेश सभातर्फ प्रत्यक्षमा ३३० क्षेत्रमा गरी कूल तीन हजार चार सय ७६ जनाले उम्मेदवारी दर्ता गरेका छन् । आयोगका अनुसार पुरूष तीन हजार एक सय ७८ र महिला दुई सय ९७ जना तथा एक जना अन्यले उम्मेदवारी दर्ता गरेका छन् । 
 

Logo