नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवं सत्ता गठबन्धनको तर्फबाट रसुवा जिल्लाका प्रतिनिधि सभा उम्मेदवार मोहन आचार्यले गठबन्धन सरकारले पनि संविधानको रक्षा गर्न नसके देशको निकास नहुने दाबी गरेका छन् ।
शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता आचार्यले देशको निकासका लागि गठबन्धन सरकारको विकल्प नभएको बताएका हुन् । उनले गठबन्धन सरकार देश विकासको पवित्र उद्देश्यका साथ निर्माण भएको भन्दै गठबन्धन सरकारले पनि संविधानको रक्षा र वृहत शान्ति सम्झौताका अपूर्ण कामहरुलाई पूर्णता दिन नसके देशको निकास नहुने बताए ।
नेता आचार्यले गत निर्वाचनबाट बहुमतको कम्युनिष्ट सरकारले कुनै राम्रा काम गर्न नसकेको भन्दै अबको देश विकासको विकल्प गठबन्धन मात्रै रहेको बताए । उनले गठबन्धनले पनि देशलाई सही दिशा दिन नसके देशको अवस्था कल्पनायोग्य नरहने दाबी गरे ।
उनले भने, ‘यो गठबन्धन पवित्र उद्देश्यले बनेको गठबन्धन हो । यदी यो गठबन्धनले संविधान रक्षा गर्न सकेन भने वृहत शान्ति सम्झौताका अपूर्ण कामहरु गर्न सकेनन् भने म दावाका साथ भन्नसक्छु, यो देशको निकास हुन्न भन्नेकुरा बुझ्न जरुरी छ । चुनावी अभियानमा उम्मेदवार बन्ने साथीहरुले आफ्ना कुराहरु जनताबीच राख्दछन् । राख्नेकुरा एउटा रह्यो । तर समयानुसार वस्तुगत कुरालाई नियालेर हेर्दा, २०७४ मा बनेको वाम सरकारले राम्रो काम गर्न सकेन । यो गठबन्धनले पनि देशलाई सही दिशा दिन सकेन भने यो देशको अवस्था कस्तो बन्छ कल्पना गर्न सक्नुहुन्न । गठबन्धनका उम्मेदवारहरुको विजयी सुनिश्चिततातिर गएको छ भन्ने मलाई लाग्छ ।’
आचार्यले गठबन्धनका साझा उम्मेदवारहरुले रसुवामा निर्वाचन हारेमा पूरा रसुवावासीले नै हार्ने जिकिर गरे । उनले रसुवा जिल्लाको भविष्य उज्वल बनाउन चुनावका लागि आवश्यक तयारी थाल्न पनि निर्देशन दिए । साथै उनले केन्द्रदेखि प्रदेशबाट जनताले चाहेको विकासका लागि आवश्यक बजेट उपलब्ध गराउने प्रतिवद्धता पनि जनाए ।
प्रतिक्रिया