आफू राम्रो र अरु नराम्रो भनि प्रचारप्रसार गर्न पाइँदैनः आयुक्त भण्डारी

आफू राम्रो र अरु नराम्रो भनि प्रचारप्रसार गर्न पाइँदैनः आयुक्त भण्डारी

केन्द्रबिन्दु
0
Shares

निर्वाचन आयोगले निर्वाचन आचारसंहिता पूर्ण रुपमा पालना गर्न उम्मेदवारहरुलाई आग्रह गरेको छ । राजनीतिक दलका उम्मेदवारहरु तथा स्वतन्त्र उम्मेदवारहरुले चुनाव प्रचारप्रसार गरेको उजुरी परेसँगैै आयोगले निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न सचेत गराएको हो । 

आईतवार सञ्चारकर्मीसँग कुरा गर्दै निर्वाचन आचारसंहीता कन्द्रिय अनुगमन समितिका संयोजकसमेत रहेका आयुक्त रामप्रसाद भण्डारीले आचारसंहीताअनुसार निर्वाचन हुने दिनभन्दा १७ दिन अगाडीदेखि (कार्तिक १८ गतेदेखि) मात्रै प्रचारप्रसार गर्न पाइने बताए । उनले उम्मेदवारहरुले घरदैलो कार्यक्रम गर्न पाउने र त्यसमा २५ जनाभन्दा बढी सहभागि हुन नपाउने प्रावधानलाई पनि पालना गर्न सचेत गराए । 

आयुक्त भण्डारीले घरदैलोमा बाजागाजा र तामझाम गरिरहेको उजुरी आयोगमा परेको भन्दै उनले त्यस्ता कार्य नगर्न आग्रह गरे । घरदैलोमा तामझाम र बाजागाजा गर्नुपनि आचारसंहिता विपरित हुने उनको भनाइ छ । आचारसंहीताको परिधिभित्र बसेर कानूनी सजाय नपाउनेगरी घरदैलो गर्न उहाँले उम्मेदवारहरुलाई आग्रह गरे ।  

उनले भने– ‘धेरै दलहरुलाई स्पष्टीकरण सोधिराखेका छौँ । कतिपय उम्मेदवारहरुले उधारो भिसापनि बाँड्न शुरु गर्नुभएको छ । खाडी मुलुकमा रोजगारी दिन्छु तँ यहाँ जाने भनेर उधारो भिसा शुरु गर्नु भएको छ । त्यो गर्न पाइँदैन आचारसंहीताले निषेध गर्छ । यदी त्यसो हो भने उहाँहरुलाई कारबाहीको विषय हुन्छ । स्थानिय स्तरमा हाम्रो निर्वाचन अधिकृतहरुले कारबाही गर्नुभयो ठिकै हो । यदि त्यहाँबाट कारबाही गर्नुभएन भने आयोगले कठोर निर्णय गरेर कारबाही गर्नुपर्ने हुन्छ । त्यसो भएको हुनाले सम्पूर्ण राजनीतिक दलका उम्मेदवारहरुलाई आयोगका तर्फबाट म के आग्रह गर्न चाहन्छु भने अहिले घरदैलो गर्न सम्मलाई आचारसंहीताले छुट दिएको हो । घरदैलो गर्ने प्रयोजनका लागि पनि निश्चित एउटा सिमा निर्धारण गरेको छ । जे पायो त्यही गरेर घरदैलो गर्न पाइँदैन । आचारसंहिता अध्ययन गरिदिनुस् उम्मेदवारहरुले । त्यसको परिधिभित्र बसिदिनुस् । र त्यो परिधिभित्र बसेर कानूनले सजाय नपाउनेगरी घरदैलो गरिदिनुस् भन्ने आयोगको तर्फबाट सम्पूर्ण उम्मेदवारहरुलाई म आग्रह गर्न चाहन्छु ।’

आयुक्त भण्डारीले उम्मेदवारहरुले आफू राम्रो र अरु नराम्रो भनि प्रचारप्रसार गर्न नपाइने उल्लेख गरे । उम्मेदवारहरुलाई आफ्नो घोषणापत्र अनुरुप र आफूले गर्ने कामहरुको मात्रै प्रचारप्रसार गर्न उनको सुझाव छ ।  

उनले भने– ‘फलानो नराम्रो आफू राम्रो भनेर उहाँहरु प्रचारप्रसारमा जानुभएको छ । आफू राम्रो । अर्काको दलको र स्वतन्त्र उम्मेदवार नराम्रो भन्न पाइँदैन । आफू राम्रो मात्रै भनेर जानुस् न । म यो नीति तथा कार्यक्रम गरेर जान्छु । म यो विकास निर्माणको काम गर्छु भनेर आफ्नो घोषणापत्रमा जे उल्लेख गर्ने हो । त्यो सबै स्पष्ट देखिने गरी जानुस् । मेरो घोषणापत्र ठिक, अर्काको बेठिक भन्न पाइँदैन । कानूनको परिधिभित्र बसेर निर्वाचन प्रचारप्रसार गरिदिनुप¥यो । यदी निर्वाचन प्रचारप्रसार गर्दाखेरी यो आचारसंहीतालाई उल्लंघन गरिदिनु भयो भनेदेखि आयोगले कठोरतापूर्वक उहाँहरुलाई कारबाही गर्नुपर्छ । उहाँहरुको मनोनयनपत्र खारेज पनि हुनसक्छ ।’
 
आयुक्त भण्डारीले आयोगले हालसम्म दर्जनौँ उम्मेदवारहरुलाई स्पष्टीकरण सोधिसकेको जानकारी दिए । स्पष्टीकरण चित्तबुझ्दो नभएमा थप कानूनी कारबाही अगाडी बढाइने र आचारसंहीता पालना गराउने सन्दर्भमा आयोग निर्मम र निर्दयी भएर अघि बढ्ने स्पष्ट पारे । 

Skip This
Skip This
Logo