‘ललितपुरको कला, सम्पदा र संस्कृतिहरुको प्रबर्द्धन गर्न मेरो उम्मेदवारी’ -पम्फा भुसाल

‘ललितपुरको कला, सम्पदा र संस्कृतिहरुको प्रबर्द्धन गर्न मेरो उम्मेदवारी’ -पम्फा भुसाल

केन्द्रबिन्दु
0
Shares

ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री तथा गठबन्धनको तर्फबाट ललितपुर क्षेत्र नं. ३ की प्रतिनिधि सभा सदस्य उम्मेदवार पम्फा भुसालले कला, सम्पदा र संस्कृतिहरुको प्रवद्र्धन गर्न आफू उम्मेदवार बनेको बताएकी छन् । 

मंगलवार सत्तारुढ गठबन्धनले ललितपुर जिल्लामा आयोजना गरेको गठबन्धनका अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मन्त्री भुसालले ललितपुरको कला, सम्पदा, संस्कृति र परम्पराको प्रवद्धर्नका लागि प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिएको बताएकी हुन् । उनले ललितपुरमा कृषि पर्यटनको अवधारणा लागु हुनुपर्ने भन्दै त्यसका लागि आवश्यक नीतिगत व्यवस्था गर्ने प्रतिवद्धता व्यक्त गरिन् ।

मन्त्री भुसालले ऐतिहासिक सम्पदा, मठमन्दिर र गुम्बासहित परम्परागत पहिचानको संरक्षण तथा प्रवद्र्धन गर्दै डिजिटल प्रोफाइल तयार गर्ने बताइन् । उनले रथयात्रा, पर्व, पहिरन तथा गरगहनाजस्ता मौलिक संस्कृतिको व्यापक प्रवद्र्धन गर्न जोड दिने उल्लेख गरिन् । 

उनले भनिन्, ‘हामी ललितपुरवासिका लागि कला, सम्पदा, संस्कृति र परम्पराको प्रवद्र्धन समृद्धिको महत्वपूर्ण आधार हो । यसलाई नै यहाँको हरेक घर, परिवारको आर्थिक उपार्जन सँग जोड्नुपर्दछ । व्यवस्थित एवं आधुनिक कृषि कर्मको प्रवद्र्धन गर्दै यहाँ उपलब्ध खेतीयोग्य जमिनको संरक्षण गरी कृषि पर्यटनको अवधारणा लागू हुनुपर्दछ । यसका लागि आवश्यक पर्ने नीतिगत व्यवस्था प्रदेश र स्थानीय सरकारसँग समन्वय गरेर काम गर्न म प्रतिवद्ध छु । अबको ५ वर्षमा ललितपुरवासीको गुणस्तरिय जीवन जिउने आधार तयार हुनेछ । जुन समाजवादको प्रस्थान बिन्दु पनि हो । त्यसका लागि पर्यटनमा आधारित अर्थतन्त्र, समतामुलक समाज र स्वच्छ पर्यावरणलाई तत्काल विशेष प्राथमिकता दिएर सो अनुरुप नीति र कार्यक्रम बनाउनका निम्ति म प्रतिवद्ध छु ।’

उनले अगाडि थपिन्, ‘आगामी यात्रा कला, संस्कृति र सम्पदाले भरपुर पर्यटकिय क्षेत्रका रुपमा सम्पन्न ललितपुर । यहाँको अमूल्य कला, संस्कृति र सम्पदाको संरक्षण तथा प्रवद्र्धन गर्दै आकर्षक पर्यटकीय पूर्वाधारका लागि स्थानीय तथा सरोकारवाला निकायसँग व्यापक परामर्श गरेर स्पष्ट नीति, निर्माण गरी कार्यान्वयन गर्न म लागिपर्नेछु । ऐतिहासिक सम्पदा, मठमन्दिर र गुम्बासहित परम्परागत पहिचानको संरक्षण तथा प्रवद्र्धन गर्दै डिजिटल प्रोफाइल तयार गर्नेछु । रथयात्रा, पर्व, पहिरन तथा गरगहनाजस्ता मौलिक संस्कृतिको व्यापक प्रवद्र्धन गर्नेछौँ । हस्तकला केन्द्रहरुको स्तरोन्नति गर्नेछौँ । पर्यटकीय चक्रपथ, हाइकिङ र साइक्लिङ मार्ग निर्माण गर्नेछौँ । स्थानीय हिटी, पोखरी, राजकुलो, तालतलैयाको पुनर्निमाण र संरक्षण गरी उपयोग गर्नेछौँ । र पर्यटन उद्यमलाई प्रोत्साहन गर्नेछौँ । अब ललितपुरवासिले सुन्दर पर्यावरणमा रमाउन पाउनुपर्छ । स्वच्छ वातावरणमा रहेर सामाजिक, आर्थिक गतिविधि गर्न पाउनुपर्दछ । त्यसका लागि पर्यावरणमैत्री पूर्वाधार निर्माण गर्ने र ललितपुरबासिले गर्व गर्न लायक शहर निर्माण गर्न म विगतमा झैँ प्रतिवद्ध छु ।’
 
त्यस्तै गरी गठबन्धनको तर्फबाट ललितपुर क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार नेपाली काँग्रेसका नेता उदय समशेर राणाले देशको आर्थिक अवस्थामा परिवर्तन ल्याउनको निम्ति वाम–लोकतान्त्रिक गठबन्धनले दुई तिहाई मत ल्याउनुपर्ने बताए ।

उनले भने– ‘अब यो देशमा आर्थिक क्रान्ति ल्याउनको निम्ति । यो देशमा आर्थिक परिवर्तन ल्याउनको निम्ति अब यो गठबन्धनले दुई तिहाई बहुमत नल्याइकन हुँदैन भन्ने हाम्रो ठम्याइ छ । लोकतान्त्रिक–वाम गठबन्धनको सरकार बनिसकेपछि हाम्रो मुल दिशा भनेको यो देशको उन्नति, यो देशको आर्थिक परिस्थितिलाई परिवर्तन गरेर हाम्रो धेरै बेरोजगार युवाहरुलाई रोजगारी दिने लक्ष्य अनुसार हामी अगाडी बढेका छौँ ।’
  
त्यसैगरी ललितपुर क्षेत्र नं. २ का गठबन्धनका उम्मेदवार नेकपा (एकीकृत समाजवादी) का नेता कृष्णलाल महर्जनले प्रतिगमनकारीहरुलाई परास्त गर्नका लागि आफैँलाई उम्मेदवार ठानेर निर्वाचनको काममा लाग्न नेता, कार्यकर्ताहरुलाई आग्रह गरे । 

उनले भने– ‘निर्वाचनमा प्रतिगमनकारीहरुलाई परास्त गर्न यहाँहरु सबै म आफैँ उम्मेदवार हुँ भन्ने हिसावले लाग्नुहुनेछ भन्नेपनि मैले विश्वास लिएको छु । हाम्रो जिल्लामा तमाम गठबन्धनका उम्मेदवारहरुलाई जिताउन यहाँहरु लाग्नुहुनेछ भन्ने मैले पूर्ण विश्वास लिएको छु । विगत पाँच वर्षको बिचमा यहाँहरुले मलाई देश, जनताको सेवा गर्ने मौका दिनुभएको थियो । म संसद र संसदीय समितिमा उपस्थित भएर काम गर्ने मौका पाएको थिएँ । मैले कुनै पनि बेला आफ्ना मतदाताहरुलाई लाजले शिर झुकाउनुपर्ने काम कहिल्यै पनि गरेको थिएन र आगामी दिनमा पनि त्यस्ता काम हुनेछैन भन्ने म प्रतिवद्धता व्यक्त गर्दछु । त्यसैकारणले गर्दा नै आफ्नै नेतृत्वको बिरुद्धमा विद्रोह गर्नुपरेको हो । खराब बाटोतिर यदी कोही लाग्छ भने त्यसको बिरुद्ध हमेशा लाग्ने नै छु भन्ने आफ्नो प्रतिवद्धता पनि व्यक्त गर्न चाहन्छु ।’

Logo