ओलीको दाबीः ‘मंसिर ४ पछि जनकपुरको रेलभन्दा छिटो विकासको गति अगाडि बढ्छ’

ओलीको दाबीः ‘मंसिर ४ पछि जनकपुरको रेलभन्दा छिटो विकासको गति अगाडि बढ्छ’

केन्द्रबिन्दु
0
Shares

नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मंसिर ४ पछि आफ्नो पार्टी नेतृत्वको सरकार बन्ने दावी गरेका छन् । अदालतले आफू नेतृत्वको सरकार हटाएको उल्लेख गर्दै उनले मंसिर ४ गते बस्ने जनताको ‘महाअदालत’ले आफ्नो पार्टी नेतृत्वमा सरकार बनाउने बताएका हुन् । 

लोकतान्त्रिक आदिवासी जनजाति महासंघ, नेपालद्वारा शुक्रबार काठमाडौंमा आयोजित  आदिवासी जनजातिसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले सो फैसला आफ्नो पार्टीको पक्षमा हुनेगरी परिचालित हुन पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराए । आफ्नो पार्टी नेतृत्वको सरकार बनेपछि जनकपुरमा चलिरहेको रेलको गतिमा विकास, निर्माणको कामले तीव्रता पाउने आश्वासन दिँदै उनले त्यसका लागि गाउँगाउँमा गएर पार्टीको पक्षमा जनमत निर्माण गर्न पनि सिंगो पार्टी पंक्तिलाई आह्वान गरे । 

उनले भने, ‘म साथीहरुलाई आग्रह गर्न चाहन्छु– यो सरकार काम गर्न जन्मेकै होइन । यसलाई काम गर्ने फुर्सद नै छैन । त्यसकारण यो बेग्लै उद्देश्यका साथ बनेको सरकार हो । अव मंसिर ४ पछि जनकपुरको रेल भन्दा छिटो विकासको गति अगाडि बढ्छ । हाईवे को गाडी भन्दा छिटो विकासका गति अगाडि बढछ । हाम्रो देशको विकासको गति अगाडि बढछ । साथीहरु ढुक्क हुन म आग्रह गर्दछु । र, यो सन्देश तपाईहरुले गाउँगाउँमा लिएर जानुहोस् । गाउँगाउँमा लिएर गएर महाअदालत बसेर महाफैसला मंसीर ४ गते गर्दैछ । अदालत सदालत धेरै बसे । सरकार हटाए । त्यो सबै सच्याउने गरी जनताको महाअदालत ४ गते बस्दैछ । त्यसले महाफैसला गर्नेछ । त्यो महाफैसला सही हुनु पर्दछ । सही फैसला गर्न, गराउन साथीहरु लाग्नुस् । म त्यही आग्रह गर्न चाहन्छु ।’
 
अध्यक्ष ओलीले निर्वाचनको बेला जनतालाई अल्मल्याउने काम सत्तारुढ दलहरुले गरिरहेको आरोप समेत लगाए । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालप्रति कटाक्ष गर्दै उनले आफूहरुले निर्वाचन आचारसंहिता विपरित फ्रि भिसा र फ्रि टिकटको कुरा नगरेको बताए । 

उनले भने, ‘अरुले भनेजस्तो हामी फ्रि भिसा, फ्रि टिकट यस्तो भनेर हिँडेका छैनौं । मान्छे अल्मल्याएर हिँडेका छैनौं । विना ढेउवा पनि भनेका छैनौं । मान्छे अल्मल्याउने काम गरेका छैनौं । हाम्रो काम अल्मल्याउने होइन । जनतालाई सचेत बनाउने हो, संगठित बनाउने हो । र, अगाडि बढाउने हो । दमक रंगशालाको कुरा गर्नु भयो दमकमा । त्यहाँ रंगशाला बनाउन पर्छ मैले भने । सशष्त्र प्रहरीले लिएको जमिन मैले लिए । दशाैं अरवको रंगशाला बनाउनु छ । उपभोक्ता समिति बनाउन सुरु भयो । अनि दुनिँयामा रंगशाला बनाउँदा समिति बनाउँछ ? पोखरामा हामीले रंगशाला बनायौं । कहाँ समिति बनाइयो ? जनकपुरमा रंगशाला बनायौं । कहाँ समिति बनाइयो ? अन्तराष्ट्रिय स्तरको रंगशाला बनाउँछु भनेपछि अनेक झमेला गरेर ढिला भयो । मैले भनिसकेको छु–रंगशाला बनाउँछु । अव रंगशालाका कुरा सुरु गरेँ मैले । काम सुरु गरेँ मैले । जमिन तयार गरेँ मैले । बजेटमा पारे मैले । आगामी हाम्रो चुनावी घोषणा पत्र छिट्टै आउँदैछ । त्यसमा साथीहरुले ढुक्कले हेर्नु भए हुन्छ ।’ 

अध्यक्ष ओलीले आफू नेतृत्वको अघिल्लो सरकारले अरु पार्टीले २० वर्षमा गर्न नसकेको काम ३ वर्षमै गरेर देखाएको बताए । उनले सबै जाति, भाषा र संस्कृतिको विकासका लागि एमालेले काम गर्ने गरेको बताए ।

Logo