प्रतिष्पर्धी उम्मेदवारमाथि नेता केसीको कटाक्षः ‘उहाँलाई सिंहदरबार कहाँ हो सोध्दै हिंड्नुपर्छ’

प्रतिष्पर्धी उम्मेदवारमाथि नेता केसीको कटाक्षः ‘उहाँलाई सिंहदरबार कहाँ हो सोध्दै हिंड्नुपर्छ’

केन्द्रबिन्दु
0
Shares

नेपाली काँग्रेसका केन्द्रिय सदस्य बलबहादुर केसीले आगामी चुनाव जित्नु नै आफ्ना लागि पहिलो महत्वपूर्ण कुरा भएको बताएका छन् । 

शनिवार काठमाडौंमा आयोजित जिल्ला समन्वय समितिले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले काठमाडौंवासी सोलुखुम्बुका मतदाताहरुलाई चुनाव अगावै आगामी निर्वाचनमा भोट हाल्न पठाइदिन काठमाडौंस्थित पार्टी समन्वय समितिहरुलाई निर्देशन दिएका हुन् । 

नेता केसीले मतदातालाई जिल्ला पठाउँदा अन्य पार्टीका मानिसहरु पनि त्यही हुलमा मिसिनसक्ने भन्दै सचेत रहन आग्रह गरे । उनले नामै किटान गरेर नेकपा एमालेका कार्यकर्ताहरु पनि गठबन्धनको हुलमा मिसिएर आफूले पठाएको सवारीसाधनबाट जिल्ला जानसक्ने आरोप लगाए ।
 
उनले भने, ‘हाम्रा तीनै दलका शुभचिन्तक मतदातालाई हरेक गाउँका सम्पर्क समितिका अध्यक्षलाई समन्वय गरी मंसिर ४ गते भन्दा अगाडि भोट हाल्नका लागि यहाँबाट तपाईहरुले पठाइदिनुपर्छ । यो भेलाले पुग्दैन । किनभने चुनाव जित्ने पहिलो कुरा हो । तर मतदातालाई पठाउँदा के विचार गर्नुपर्छ भने घुसपैठ होला, सबै काँग्रेस भन्लान्, काँग्रेसले माओवादी माओवादीले काँग्रेस चिन्दैन । त्यो भित्र एमालेले आफ्ना मान्छे पठाउन सक्छ । यो मेरो अनुभव छ । एक पटक काँग्रेसका पठाएको भनेको माओवादी चलाख सबै माओवादीका परेछन् । परिणाम मैले हारेँ । प्रश्न चुनाव जित्नु हो ।’

सोलुखुम्बु जिल्लाबाट गठबन्धनको बलमा उम्मेदवारी दिएका नेता केसीले नेकपा एमालेबाट उम्मेदवारी दिएका नेता मानवीर राईप्रति इंगित गर्दै सिंहदरबार नै नचिनेको मानिसलाई जनताले चुन्नु नहुने बताए । उनले एमाले उम्मेदवार राईले सिंहदरबार कहाँ छ ? भनि सोध्नुपर्ने स्थिति रहेको बताए । 

उनले भने, ‘एमालेलाई किन जिताउने १ नम्बर प्रदेशको नाम नै राख्न सकेन । मुख्यमन्त्री भए नाम राख्न सकेका छैनन् । केही गर्न नसक्नेलाई पठाएर केही हुनेछैन । नेपाली काँग्रेस र गठबन्धनलाई केन्द्रमा जिताउनु भयो भने सिंहदरबार कहाँ छ, कुन कोठामा ढुकुटी छ, कुन कोठामा फाइल छ मलाई थाहा छ, निकालेर ल्याएर सोलुका जनताका लागि सेवा गर्छु । हाम्रो एमालेका नेतालाई पुतली सडकमा गएर ए दाजु कता हो सिंहदरबार भन्नुपर्ने अवस्था छ । उनीहरुले त्यस्तो नेतृत्व अघि सारेको छ । उहाँलाई केन्द्रको केही थाहा छैन । बलबहादुर दाईसँग के जितिन्छ र नलडिकन पनि भएन भन्दै हिँड्नुहुन्छ ।’
 
नेता केसीले गठबन्धनले देश, जनता र संविधानलाई फाइदा हुने काम गर्ने दाबी गरे । उनले अहिलेको अवस्थाको गाउँको फोटो खिचेर राख्न र आफूले जितेको ३ वर्षपछिको परिवर्तनसँग सोलुखुम्बुको मूल्यांकन गर्न चुनौती दिए । गबठन्धनका ५ दल मिल्दा पनि एमालेले जितेको खण्डमा गठबन्धनका कुनै दलको पनि अस्तित्व नरहने उनको भनाइ थियो । 
 

Logo