नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले युद्धकालमा आमनेसामने भएर लडेको सम्झेर अहिले मतदान गर्न आनाकानी गर्न नहुने बताएका छन् ।
बागमती प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सोमबार सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले युद्धकालमा माओवादी र कांग्रेस, माओवादी र नेकपा एकीकृत समाजवादी (तत्कालीन एमाले)बीच आमनेसामने भएकै आधारमा अहिले मतदान गर्न कठिन मान्नु नपर्ने बताएका हुन् ।
१२ बुँदे सहमति, शान्ति प्रक्रिया हुँदै अहिलेको राजनीतिक अवस्थामा आएकाले कांग्रेसका नेता तथा कार्यकर्ताले माओवादी उम्मेदवारलाई मत दिन कठिन मान्नु नहुने उनको भनाइ छ ।
‘राजनीतिक आन्दोलनले परिवर्तनलाई ल्याएका पनि छन् । चाहे ७ सालको कुरा गरौँ, चाहे ४६ सालको कुरा गरौँ । वा ३६ साल वा २०६२/०६३ सम्म आउँदाको क्रान्तिको कुरा गरौँ । यी सबै ठूला परिवर्तन सम्भव भए । तर ठूला परिवर्तन भएको १०-१५ वर्ष बितेपछि त्यो राजनीतिक परिवर्तन र राजनीतिक एजेण्डाहरु बिस्तारै कमजोर हुँदै जाने खतरा देखापर्दै आएको छ । अहिले पनि २०६२/०६३ को क्रान्तिपछि नै एकथरी मानिसले पार्टी र नेताहरुलाई गाली गर्ने र अर्कै दिशातिर अन्धकारको सुरुङतिर देशलाई लैजाने त्यस्ता मानिस छन्, निरंकुशता र सामन्तवादका पक्षधर छन् ।’ उनले भने ।
देश र जनताका लागि एकअर्कालाई सहयोग गरेर अघि बढ्नुपर्ने बताएका अध्यक्ष प्रचण्डले अहिलेको गठबन्धनको सत्ताका लागि नभएको बताए । देशमा प्रतिगमनविरुद्ध लड्न आवश्यक परेका बेलासम्म गठबन्धन रहने उनको भनाइ थियाे।
साथै अध्यक्ष प्रचण्डले नेपालमा संघीयता र गणतन्त्र सम्भव छैन भन्नेहरुसँग अहिले पनि संघर्ष भइरहेको बताएका छन्। 'नेपालमा संघीयता र गणतन्त्र सम्भव छैन राजतन्त्र फ्याँक्न सकिँदैन भन्ने हरु पनि थिए'उनले भने, 'तिनीहरुको राजावादी र सामान्तवादीसँग उठबस छ। गोरुगाडावाला सिद्धान्त भएका मान्छेले पनि संविधान स्वीकारे भनेका थियौँ। तर नकाव लगाए जस्तो गरेर गणतन्त्र र संघीयता स्वीकारेको रहेछन्।'





























प्रतिक्रिया