निर्वाचन आयोगले सोध्यो एमाले उम्मेदवार चौधरीलाई स्पष्टीकरण

निर्वाचन आयोगले सोध्यो एमाले उम्मेदवार चौधरीलाई स्पष्टीकरण

केन्द्रबिन्दु
0
Shares

निर्वाचन आयोगले एमालेबाट सुनसरी -३ की प्रतिनिधिसभा सदस्य उम्मेदवार भगवती चौधरीलाई स्पष्टीकरण सोधेको छ ।

इटहरी उपमहानगरपालिका–१४ मा कार्यकर्ता भेटघाटका क्रममा ‘विपक्षीलाई गोली ठोक्ने र छुरा रोप्ने एमाले नेतृ भगवती चौधरीको धम्की’ भन्ने विषयको समाचारप्रति आयोगको ध्यानाकर्षण भएको भन्दै स्पष्टीकरण सोधिएको हो ।

निर्वाचन आचारसंहिता, २०७९ को दफा ४ को खण्ड (न) मा ‘कुनै प्रकारले निर्वाचनको स्वच्छता वा निष्पक्षतालाई प्रभावित गर्ने गरी कुनै कार्य गर्न नहुने’ व्यवस्था रहेको छ । साथै निर्वाचन आचारसंहिता, २०७९ को दफा १३ को उपदफा ९१० को खण्ड (फ) मा ‘उम्मेदवार तथा निजको परिवारलाई कुनै तवरबाट डर, त्रास तथा धम्की दिन नहुने’ व्यवस्था छ । निर्वाचन आचारसंहिता लागू भइसकेको विषयको सन्दर्भमा निर्वाचन आचारसंहिताको विपरीत हुनेगरी अभिव्यक्ति दिएकाले २४ घण्टाभित्र निर्वाचन आयोग वा जिल्ला निर्वाचन कार्यालय, सुनसरीमा प्राप्त हुने गरी स्पष्टीकरण पेस गर्न निर्देशन दिइएको छ ।

स्पष्टीकरण पत्रमा निर्वाचनमा मतदातालाई स्वतन्त्र रुपमा मतदान गर्न पाउने अन्तरनिहीत हक रहेको सन्दर्भमा तपाईंबाट निर्वाचनको स्वच्छता र निष्पक्षतामा नकारात्मक प्रभाव पर्ने गरी दिइएको धम्कीपूर्ण तथा हिंसा उद्यत गराउने अभिव्यक्ति दिएको होइन भन्ने आधार र कारण के छ ? साथै तपाईंले सार्वजनिक मञ्चमा दिएको भड्काउपूर्ण अभिव्यक्तिले निर्वाचन आचारसंहिता, २०७९ को दफा ४ को खण्ड (न) र सोही ऐनको दफा १३ को उपदफा (१) को खण्ड (फ) को उल्लंघन हुन गएकाले तपाईंलाई निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा (३) र (४) बमोजिमको कारवाही किन हुनु नपर्ने हो ? स्पष्ट पार्न भनिएको छ ।

Logo