नेपाली कांग्रेसबाट चितवन १ का प्रतिनिधिसभा उम्मेदवार डा. विश्वनाथ पौडेलले अग्रगमन र विकासका लागि गठबन्धनका उम्मेदवार विजयी हुनुपर्ने बताएका छन् । चितवन १ को चुनावी प्रचार प्रसारका क्रममा पौडेलले यस्तो बताएका हुन् । उनले भने, 'चुनाव भनेको चुन्ने कुरा हो । मंसिरको ४ चुनावमा अग्रगमन र विकास चुन्नुस् । प्रतिगमन र अविकास होइन ।'
सत्ता गठबन्धनले चुनाव जिते संविधानको रक्षा र स्थायित्व हुने उनको जिकिर छ । पौडेलले भने, 'गठबन्धनले जित्नु मुलुकको अगाडि हिड्ने बाटो निर्धारित हुनु हो । यो भन्दा यताउता भयो भने फेरि अस्थिरता निम्तिने छ । विकास हुने छैन ।'
योजना आयोगको उपाध्यक्ष हुँदा पूर्वी चितवनका विभिन्न खोलाहरुमा तटबन्ध निर्माणका काम थालेको उनको भनाइ छ । पौडेलले भने, 'यहाँ धेरै खोला छन्, तिनले जनतालाई धेरै दुःख दिएका छन् । त्यसैले तटबन्ध कार्यक्रम अघि बढाइयो ।'
बिजुली नपुगेका तामाङ, चेपाङको बस्तीमा बिजुली लैजाने काम भएको उनले बताए । पौडेलका अनुसार सडक पूर्वधारमा पश्चिम चितवन र पूर्वी चितवनमा आकाशपातलको फरक छ । उनले भने, 'त्यसमा महत्त्वपूर्ण सडक पूर्वाधार लैजान कोसिस गरेँ । स्वास्थ्यको विषयमा जनताको आवाज सरकारसमक्ष पुर्याएँ । अब जनप्रतिनिधिका रुपमा यी काम सम्पन्न गर्ने मेरो लक्ष्य छ ।'





























प्रतिक्रिया