नेपाल मजदुर किसान पार्टीको घोषणापत्र सार्वजनिक

नेपाल मजदुर किसान पार्टीको घोषणापत्र सार्वजनिक

केन्द्रबिन्दु
0
Shares

नेपाल मजदुर किसान पार्टीले आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ ।  

मंगलवार काठमाडौंमा एक औपचारिक कार्यक्रमका बीच नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि पार्टीको घोषणा सार्वजनिक गरेका हुन् । घोषणापत्रमा नेपालको सम्पति र पुँजीलाई विदेशमा लान नपाउने ऐन, कानून तत्काल बनाउनुपर्नेमा जोड दिइएको छ । 

त्यस्तै अपराधीहरुको पक्ष लिने र अपराधलाई प्रोत्साहन गर्नेहरुलाई कानून उल्लंघन गरेको अपराध मानि दण्ड, जरिवाना, असुल उपर गराउने गरी नयाँ विधेयक निर्माणका लागि पार्टीले आवाज उठाउने उल्लेख गरिएको छ । 

घोषणापत्रको सारसंक्षेप प्रस्तुत गर्दै पार्टी सचिव प्रेम सुवालले ठेक्का लिएर काम नगर्ने ठेकेदारहरुलाई कडा सजायका साथमा ठेक्काबाट वञ्चित गर्ने ऐन, कानून बनाउन आफ्ना प्रतिनिधिहरुले संसदबाट आवाज उठाउने बताए । उनले शिक्षा क्षेत्रको बजेट बढाउनका लागि पनि आवाज उठाउने उल्लेख गरे । 

त्यस्तै मल, कारखाना खोल्ने, नहर र पानी पोखरीहरु बनाई सिंचाईको बन्दोबस्त गर्न सबै जिल्लामा कृषि विकास बारे योजना तत्काल शुरु गराउन आफूहरुले संघर्ष गर्ने पनि उनले बताए । नेमकिपाले नयाँ पुस्तालाई नागरिकशास्त्र, अर्थशास्त्र, भूगोल, इतिहास, संस्कृति र राजनीतिशास्त्रको अध्ययनमा ध्यान दिन सबै विश्वविद्यालयलाई घच्घच्याउने गरी शैक्षिक अभियान आवश्यक रहेको बताएको छ । 

सचिव सुवालले स्थानीय तहलाई स्वायत्तता र विकेन्द्रीकरणको अधिकार दिइएको खण्डमा संघीयताको आवश्यता नरहेको कुरामा नेमकिपाको अडान रहेको स्पष्ट पारे । उनले आफ्नो पार्टीलाई जिताएर संसदमा पु-याएमा प्रखर प्रतिपक्षको भुमिका निर्वाह गरी प्रजातन्त्र र जनअधिकारको रक्षा गर्ने बताए । 

त्यस्तै सुवालले एमसीसी सम्झौता र एसपीपी साझेदारी खारेज गराउन आवाज उठाउने बताए । नागरिकता विधेयक पनि खारेज गराउन पहल गर्ने उनले बताए । माध्यामिक शिक्षा निःशुल्क र अनिवार्य तथा विश्वविद्यालय शिक्षा निःशुल्क गराउन भुमिका खेल्ने पनि उनको भनाई छ ।

Skip This
Skip This
Logo