आगामी निर्वाचन देशको परिस्थिति जाँच्ने ब्यारोमिटरः नारायणमान बिजुक्छे
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनलाई देशको परिस्थिति जाँच्ने ब्यारोमिटरको रुपमा लिएको बताएका छन् ।
मंगलवार प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि पार्टीको घोषणापत्र सार्वजनिक गर्दै अध्यक्ष बिजुक्छेले आगामी निर्वाचनलाई देशको परिस्थिति जाँच्ने ब्यारोमिटरको रुपमा लिएको बताएका हुन् । उनले ब्यारोमिटरको पारो तल झर्दा आधीबेरी आउने संकेत भएजस्तै निर्वाचनमा आफ्नो पार्टीको मत माथि भएमा क्रान्तिको सम्भावना छ भन्ने देखाउने उल्लेख गरे ।
उनले भने– ‘हामीले निर्वाचनलाई एउटा ब्यारोमिटरको रुपमा लिँदै आएका छौँ । त्यो भनेको ब्यारोमिटरको पारो तल झर्न साथ आधीबेरी आउने संकेत भएजस्तै यदी हाम्रो पार्टीले र क्रान्तिकारी पार्टीहरुको मत सिमा धेरै माथि भयो भनेदेखि यसले क्रान्तिको सम्भावना हुन्छ भन्ने कुरा अरुअरु देशको क्रान्तिबाट पनि थाहा हुन्छ । यसकारण हामीले यसलाई हार, जित भन्दापनि मुख्य देशको परिस्थिति के–कस्तो छ भनेर जाँच्नको निम्ति ब्यारोमिटरको रुपमा प्रयोग गर्दै आएका छौँ । अहिले हाम्रो विरोध भनेको शासक दलहरु दुईवटा खेमामा विभाजित छन् । तर एउटै सिक्काका दुई पाटा हुन् । तिनीहरु बारम्बार सरकारमा गएको ३० वर्ष भयो । तर देशको समस्या झन् झन् बिकराल र जटिल हुँदै गएको देखा पर्दैछ ।’
उनले अगाडि थपे-‘साम्राज्यवादीहरु र बिस्तारवादीहरुको साँठगाँठ अन्तगत दक्षिण एशिया र नेपाल समेत र संसारमा नयाँ किसिमको तेस्रो विश्वयुद्धको सम्भावना देखिँदै आएको हुनाले हामीले यो निर्वाचनलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थितिको विषयमा जनतालाई जानकारी गर्ने कुरामा हामी ध्यान दिन्छौँ । नेपाल मजदुर किसान पार्टीले सबभन्दा पहिले अन्तर्राष्ट्रिय परिस्थितिमा शासक दलहरुको दृष्टिकोण र हाम्रो दृष्टिकोणमा के फरक छ ? त्यसको परिणामहरु के–के होलान् ? साथसाथै राष्ट्रिय परिस्थितिलाई बिगार्नेहरु को–को हुन् ? यी सबै कुरामा हामी गाउँ–गाउँमा, जिल्ला–जिल्लामा सबै ठाउँमा जनताको सामु हामी जानेछौँ ।’
सञ्चारकर्मीहरुको जिज्ञासाको जवाफ दिँदै अध्यक्ष बिजुक्छेले आफ्नो पार्टी देशमा बनेका दुवै गठबन्धनमा जानु गलत सावित हुने भएकाले एक्लै निर्वाचनमा होमिएको बताए । उनले गठबन्धनमा मिसिने कुरालाई फोहोर पानीमा नुहाएर सफा हुन नसकिने भनि टिप्पणी गरे ।
उनले भने– ‘हामी निर्वाचनमा दुई, चार मत ल्याउने उद्देश्य भन्दापनि यसलाई जनताको बीचमा, हामीले हाम्रो देशको परिस्थिति र अन्तर्राष्ट्रिय परिस्थितिको बारेमा जानकारी गराउनको निम्ति हामीले चुनावलाई प्रयोग गर्दैछौँ । यदी हामीहरु उनीहरुसँगै भएको भएदेखि फोहोर पानीमा नुहाएर हामी सफा हुनसक्छौँ भन्ने कल्पना गर्न सक्दैनौँ । यदी हामीहरु तिनीहरुको दुईवटा समूहमध्ये कुनैपनि समूहमा गएपनि कुरो एउटै भएको हुनाले त्यो गलत सावित हुने भएको हुनाले हामीले त्यो काम रोजेनौँ । दोस्रो कुरा सरकारमा जाने दुईवटै दलले ठूलाठूला समूहले वास्तवमा आ–आफू सरकारमा बस्दाखेरी के राम्रो के नराम्रो काम गरेको त्यो सबै कुरो जनताको सामुन्य भन्ने । अहिलेको समयमा तिनीहरुले भन्न गइरहेका छैनन् । यो घोषणापत्रमा ति कुराहरुको समिक्षा हुन्छ । त्यो समिक्षा आउनुपर्ने भएको हुनाले, आउनसाथै यसमा समिक्षा छैन भनेर जनताले आवाज उठाउने सम्भावना धेरै थियो । त्यसकारणले तिनीहरुले जे गरेर पनि झुठा कुरा गरेर, जातको कुरा गरेर, क्षेत्रको कुरा गरेर, पैसा दिएर, लोभ लालच देखाएर भएपनि मत लिने र सरकारमा जाने र फेरी गलत सन्धि सम्झौताहरु गर्ने । देशलाई डुबाउने । त्यो उद्देश्य हो तिनीहरुको ।’
अध्यक्ष बिजुक्छेले पुष्पकमल दाहाल, बाबुराम भट्टराई, केपी शर्मा ओली र माधवकुमार नेपालहरु सच्चा कम्युनिष्ट नभएको टिप्पणी गरे । उनीहरु सरकारमा जाँदा कम्युनिष्टले गर्ने काम र निर्णयहरु नगरेको भन्दै कम्युनिष्टको दर्जा दिन नहुने उनले बताए ।
उनले भने– ‘कम्युनिष्ट साँच्चै भएको भए एमाले, माओवादी, एकीकृत समाजवादी वा अरु सरकारमा गएपछि उनीहरु उत्पादनको सामानलाई सामाजिकरण गर्ने, व्यक्तित्व विकासमा समान अवसर सबै जनतालाई दिने, योग्यता अनुसारको काम दिने, जमिने जोत्नेको गर्ने त्यो केही पनि गरेनन् तिनीहरुले । रोजगारको विषयमा प्राथमिकता दिने । यसो गरेनन् भने कम्युनिष्ट होइनन् भन्ने थाहा छ । नाम नै लिऔँ भने प्रचण्ड दुई पटक प्रधानमन्त्री हुनुभयो । बाबुरामजी प्रधानमन्त्री हुनुभयो । उहाँले त कम्युनिष्ट अब खत्तम । समाजवाद पनि काम लाग्दैन भन्नुभयो । फेरि समाजवाद काम नलाग्ने मान्छे कसरी कम्युनिष्ट हुन्छ ? म कम्युनिष्ट होइन पनि भन्नु भो । विभिन्न थरीको कुरा पनि गर्नुभो । उहाँले रातीराती लागुपदार्थ खानुहुन्छ भने त मैले सुनेको छैन । नत्र आज एउटा कुरा भोली एउटा कुरा । उहाँ त स्वस्थ देखिनु हुन्छ । त्यसकारण त्यस्ता कम्युनिष्टलाई हामी कम्युनिष्ट भनेर दर्जा दियौँ भने गलत हुन्छ । प्रचण्ड, माधवहरुले पनि कम्युनिष्टले गर्ने कामहरु गर्नुभएको छैन । ओलीजीलाई पनि यही हो ।’





























प्रतिक्रिया