आगामी निर्वाचनका लागि चर्चित निर्वाचन क्षेत्रहरूमध्ये काठमाडौं -४ पनि एक हो । कांग्रेसका चर्चित युवा नेता गगन थापाले चुनाव जित्दै आएको यस क्षेत्र उम्मेदवार चर्चित भएका कारण हरेक जसो निर्वाचनमा चर्चामा रहने गर्दछ।
मंसिर ४ गते हुन गइरहेको प्रतिनिधिसभाको निर्वाचनका लागि पनि यो क्षेत्र चर्चामा छ। यसै क्षेत्रबाट चुनाव जित्दै आएका नेपाली कांग्रेसका महामन्त्री गगन थापा र एमालेका प्रभावशाली नेता डा. राजन भट्टराईबीच यो क्षेत्रमा प्रतिस्पर्धा हुँदैछ। निर्वाचनको मिति नजिकिएसँगै उम्मेदवारहरूले चुनावी प्रचारप्रसार अभियानलाई तीव्र पारेका छन्।
प्रविधिको विकास र इन्टरनेटको प्रभावका कारण निर्वाचनमा उम्मेदवारहरूले विभिन्न तरिकाले प्रचारप्रसार गर्दै आएका छन्। विगतमा उम्मेदवारहरूले मतदातासमक्ष घरदैलो तथा आमसभामार्फत मत माग्दै आएका थिए। तर पछिल्ला निर्वाचनमा दलहरूले सूचना प्रविधिको उच्चतम प्रयोग गर्दै आएका छन्। विशेष गरी सामाजिक सञ्जालमार्फत उम्मेदवारले अडियो, भिडियो सन्देश एवं पर्चा पम्पलेटको प्रयोग गरेर प्रचारप्रसाद गर्दै आएका छन्।
काठमाडौं -४ मा सत्ता गठबन्धनतर्फबाट उम्मेदवार रहेका कांग्रेस महामन्त्री थापा र परराष्ट्र विज्ञ एमालेका उम्मेदवार भट्टराईबीचको चुनावी सरगर्मी विशेष चर्चामा छ।
२०६४ सालमा भएको संविधानसभाको निर्वाचनमा समानुपातिक तर्फबाट संविधानसभाको सदस्य बनेका नेता थापाले २०७० सालको दोस्रो संविधानसभा निर्वाचन र संविधान जारी भएपछि भएको २०७४ सालको संसदीय निर्वाचनमा काठमाडौं ४ बाट जितेका थिए। ०७४ को निर्वाचनमा थापाले प्रतिस्पर्धी उम्मेदवार एमालेका भट्टराईलाई ३ हजार ४११ मतले पछि पार्दै जित हासिल गरेका थिए।थापाले २१ हजार ५५१ मत ल्याएका थिए भने भट्टराईले १८ हजार १४० मत ल्याएका थिए।
२०७४ सालको निर्वाचनमा नेता थापासँग पराजित भएका एमालेका भट्टराई पुनः आमनेसामने भएका छन्। कांग्रेस नेता थापालाई विरासत जोगाउन चुनौती छ भने एमाले नेता भट्टराई थापाको विरासतलाई उल्टाउने र विगतको हारको जवाफ दिन चुनावी मैदानमा उत्रिएका छन्। गगनले यसअघि एमालेका भट्टराईसहित निर्मल कुइँकेल, नेकपा माओवादी केन्द्रका नेता तथा हालका उपराष्ट्रपति नन्दबहादुर पुनलाई पराजित गरेका थिए।
विद्यार्थी राजनीतिबाट पार्टी राजनीतिमा आएका नेता थापा २०६२/०६३ को जनआन्दोलनबाट चर्चामा आएका नेता हुन् भने नेता भट्टराई परराष्ट्र मामिला विज्ञ हुन्। तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल र केपी शर्मा ओलीका परराष्ट्र सल्लाहकार रहेका डा। भट्टराई प्रबुद्ध व्यक्ति समूह९नेपाल भारत०का सदस्य समेत हुन्।
‘स्कुल अफ इन्टरनेशनल स्टडिज’ अन्तर्गत ‘भारत–चीन सम्बन्धका सन्दर्भमा नेपालको बदलिँदो सुरक्षा दृष्टिकोण’ शीर्षकमा जवाहरलाल नेहरु विश्वविद्यालय, भारत, नयाँ दिल्लीबाट २०६९ सालमा विद्यावारिधि गरेका डा. भट्टराई लोकप्रिय युवा नेता मानिन्छन्। त्यस्तै २०६२/०६३ को जनआन्दोलनमा खेलेको भूमिकाबाट लोकप्रिय भएका नेता थापा स्वास्थ्य मन्त्री हुँदा केही उदाहरणीय काम गरेका कारण लोकप्रिय छन्।
यस्तो छ अङ्कगणित
काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ मा काठमाडौं महानगरपालिकाका १, ७, ८ र ३० वडाहरू, बुढानीलकण्ठ नगरपालिकाको १, २, ८, ९, १०, ११, १२, र १३ वडाहरू पर्छन्। २०७४ साल र २०७९ साल वैशाखमा भएको स्थानीय तहमा यस क्षेत्रमा पर्ने वडाहरूको मत हेर्दा भने यहाँ एमालेको वर्चस्व देखिन्छ।
गत वैशाखमा सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा यस क्षेत्रअन्तर्गत पर्ने १२ वटा वडामध्ये ९ वटामा एमालेले जीत हासिल गरेको थियो भने कांग्रेसले ३ वडामा मात्रै अध्यक्ष जितेको थियो।
स्थानीय चुनावमा एमालेले काठमाडौं महानगरपालिकाको वडा नम्बर १ र बुढानीलकण्ठ नगरपालिकाको १, २, ८, ९, १०, ११, १२ र १३ मा वडाध्यक्ष जितेको छ भने कांग्रेसले काठमाडौं महानगरपालिकाका ७, ८, र ३० मा वडाध्यक्ष जितेको छ।एमालेले १६ हजार ५ सय ७, कांग्रेसले १५ हजार ७ सय ६७, एकीकृत समाजवादीले २ हजार ४ सय १४, माओवादी केन्द्रले ८ सय ४४, राप्रपाले २ हजार २ सय ९३ र स्वतन्त्र उम्मेदवारले १ हजार २८ मत पाएका थिए। यसरी वडाअध्यक्षहरूले जितेको मत हेर्दा काठमाडौं ४ मा एमालेको मत बलियो देखिन्छ।
कांग्रेस नेता थापाले २ पटक जितेको यस क्षेत्रमा एमाले गत स्थानीय चुनावमा मात्रै नभएर २०७४ सालमा भएको स्थानीय चुनावमा पनि मतका आधारमा बलियो थियो। २०७४ वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा काठमाडौं -४ अन्तर्गतका वडाहरुमा वडाध्यक्षका उम्मेदवारहरुले पाएको मतमा कांग्रेसभन्दा एमाले ३ हजारभन्दा बढी मतले अगाडि थियो।
काठमाडौं -४ मा एमालेका वडाध्यक्षहरुले कुल १७ हजार २३९ मत पाएका थिए भने नेपाली कांग्रेसका वडाअध्यक्षले १४ हजार ७६ र नेकपा माओवादी केन्द्रले ३ हजार ९०९ मत पाएका थिए। एमालेको मत बलियो हुँदाहुदै पनि यस क्षेत्रमा जीत भने कांग्रेसका थापाले निकाल्दै आएका छन्।
२०७४ सालको निर्वाचनमा नेता थापाले एमाले र माओवादी केन्द्र मिलेर बनेको वामगठबन्धनका साझा उम्मेदवारलाई पराजित गरेका थिए। यसपटक त्यसैपनि थापाको पक्षमा पाँच दलीय सत्ता गठबन्धनको साथ रहेकाले जीत दोहोर्याउन सहज हुने विश्लेषण गर्न थालिएको छ।
चुनावी प्रचारप्रसारका क्रममा नेता थापाले आफू अबको १० वर्ष मात्रै राजनीतिमा रहने बताए। ‘म त जम्मा १० वर्ष काम गर्ने हो। अबको ठ्याक्कै १० वर्षपछि स्विच अफ गरेर आफ्नो बाटो लाग्ने हो। र नयाँ मान्छेलाई ठाउँ दिने हो’, नेता थापा भन्छन्, ‘त्यतिबेलासम्म खतरा नयाँ मान्छेहरू राजनीतिमा आइसकेको हुन्छन्। ती मान्छेहरूले आफ्नो पुस्ताले भन्दा राम्रो गर्नैपर्छ। यी बुढाहरूले हामीलाई काम गर्न दिएनन्। हाम्रो बाटो रोक्यो। हामी लडिरहेका छौ। गर्न दिएन भनेर हात उठाएर हिडेको होइन।’
एमाले उम्मेदवार नेता भट्टराई आफू सत्ता र संसद्मा हुँदा होस् वा नहुँदा, आफू सदैव जनताका लागि समर्पित भएको भन्दै आफू काममा विश्वास गर्ने बताउछन्। उनी भन्छन्, ‘सत्ता र संसदमा हुँदा होस् या नहुँदा, देश र जनताको लागी समर्पित छौं। हामी सदैव काममा विश्वास गर्छौं त्यसैले अब काम गर्नेको पालो।’
जनताको समस्या सदैब एमालेका लागि प्राथमिकतामा रहिरहेको भन्दै उनले सदैव जनतासँगै रहिरहने बताए । ‘हिजो संसदमा नहुँदापनि हरदम जनतासंगै रहने र जनताको हरेक समस्यालाई समाधान गर्ने अधिकतम प्रयास मेरो तर्फ़बाट भएको थियो’, उनी भन्छन्, ‘भोलिको दिनमा पनि जनताका हरेक सुखदुःखमा सँगसँगै रहनेछु।’
दोस्रोपटक आमनेसामने भएका काठमाडौं -४ का यी दुई उम्मेदवारबीच विशेष गरी चुनावी प्रचारप्रसार अभियानलाई हेर्दा तीव्र प्रतिस्पर्धा देखिन्छ। उनीहरूले सामाजिक सञ्जाललाई आफ्नो प्रचारको विशेष थलोको रुपमा प्रयोग गर्दै आएका छन्। सामाजिक सञ्जालमार्फत मतदाताको गुनासो लिने र त्यसमाथी जवाफ दिने भट्टराई र थापा दुवैले गरिरहेका देखिन्छ।





























प्रतिक्रिया