नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचनपछि पनि गठबन्धनकै सरकार बनाउनुपर्ने आवश्यकता रहेको बताएका छन् ।
“समावेशी राजनीति, समावेशी संविधान बचाउन पनि गठबन्धनको सरकार बनाउन आवश्यक छ”, शनिबार गृहजिल्ला डडेल्धुराको अजयमेरु गाउँपालिकाको भद्रपुरमा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले भने, “धेरै लामो लडाईंपछि ल्याएको प्रजातन्त्र, समावेशी संविधान बचाउनुपर्ने आवश्यकता छ ।”
सो अवसरमा उनले अतिक्रमित भूमि कूटनीतिक र वार्ताका माध्यमबाट फिर्ता ल्याएरै छाड्ने बताए ।
प्रधानमन्त्री देउवाले प्रतिपक्षी दलका नेताले दार्चुला पुगेर भाषण गर्दैमा लिम्पियाधुरा फिर्ता हुन्छ भन्दै प्रश्न गरे । “केपी ओलीजी दार्चुला गएर लिम्पियाधुरा फिर्ता आउँछ ?” उनले भने, “कूटनीति र वार्ताका माध्यमद्वारा भूमि फिर्ता ल्याउने हो, त्यसका लागि भारतसित कुरा गर्ने हो ।”
उनले प्रतिपक्षी दलको नेताले बोल्दैमा केही नहुने धारणा व्यक्त गरे।
प्रधानमन्त्री देउवाले विगतमा राष्ट्रपतिलाई मध्यराति २ बजे उठाएर संसद् विघटन गरेपछि त्यसका विरुद्धमा गठबन्धन बनेको बताए। त्यसैले चुनावपछि पनि गठबन्धन सरकार बन्ने उनको भनाइ थियो।
‘अति नै भएपछि हामी अदालत गएका हौं,’ उनले भने।
यस्तै, प्रधानमन्त्री देउवाले डडेल्धुरामा मेडिकल कलेज स्थापना र विमानस्थल बनाउने पनि बताए। ‘गर्भवतीले उपचार नपाएर ज्यान गुमाउनु पर्दैन, मेडिकल पढाइ पनि यही हुन्छ,’ उनले भने, ‘विमानस्थलका विषयमा सम्भाव्यता अध्ययन गरिने र जहाज ल्याएरै छोडिनेछ।’
डडेल्धुराको धेरै विकास भइसकेको बताउँदै उनले बाँकी काम पनि आफूले गर्ने प्रतिबद्धता व्यक्त गरे।
सभालाई सम्बोधन गर्दै उनले माओवादी र कांग्रेस मिले सुदूरपश्चिमको विकास छिटो हुने दाबी गरे। ‘खगराज भट्ट माओवादीको नेता हो। उहाँ र हाम्रो पार्टीका साथी मिल्यो भने सुदूरपश्चिमको विकास हुन्छ। डडेल्धुराको सबैभन्दा बढी विकास हुन्छ,’ उनले भने।































प्रतिक्रिया