प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनमा मतपेटिका साटिन्छ कि भनेर आशंका नगर्न आग्रह गरेका छन् ।
प्रमुख निर्वाचन आयुक्त थपलियाले आईतबार काठमाडौंमा आयोजित पूर्वप्रमुख निर्वाचन आयुक्तहरुसँगको सामूहिक छलफलमा यस्तो भनाई राखेका हुन् । उनले आफूले मतदानपछि पनि मतपेटिका साटिन्छ भन्ने दिव्यज्ञान कहिल्यै प्राप्त नगरेको दोहो-याउँदै आगामी निर्वाचनमा त्यस्तो कहीँ कतै हुन नदिने दृढता समेत व्यक्त गरे ।
सेक्युरिटी कोडको आधारमा मतपत्र छापिने भएकाले मतपेटिका फेरिए पनि फेरिएको मतपेटिकामा सो आयोगको मतपत्र हुनै नसक्ने प्रमुख निर्वाचन आयुक्त थपलियाको स्पष्टिकरण थियो ।
उनले भने, ‘झण्डैझण्डै १० प्रतिशत मतपत्र हामी बढि छाप्छौं । ताकि एउटा मतदान केन्द्रमा १ हजार टेन्टेभिव मतदाता हुन्छन । मानी लिनोस्, हजार जना मतदाता हुन्छन भने त्यहाँ हामी ११ सय मतपत्र पठाउँछौं । कुनै च्यात्तिन सक्छ । कुनै टुटेको हुन सक्छ । टुटफुट सबै हेरेरै पठाउने हो । त्यति हामीले पठाउँछौं । यहाँबाट मतपत्र छापिन्छ । अहिले निर्वाचन अधिकृतको कार्यालयमा गएको छ । त्यसपछि त्यो मतदान केन्द्रमा निर्वाचन अधिकृतले लिएर जान्छ । र, यो सबै छरिन्छ । हरेक ठाउँका मतपत्र फरकफरक हुन्छ । अव कसैले मतपेटिका छाप्दा सेक्युरिटी कोड हुन्छ । प्रत्येक मतपत्रमा फरक फरक सेक्युरिटी कोड हुन्छ । त्यो गोप्य डायरीमा हामीले लेखेको हुन्छौं । त्यहाँको मतपत्रमा त्यस्तो सेक्युरिटी कोड हुन्छ भनेर । सम्झनुस्, कसैले मतपेटिका फे¥यो भने के खाली मतपेटिका फेर्ने कि हालेको मतपेटिका फेर्ने ? त्यो मतपत्र कहाँ हुन्छ र हाल्ने । हामीले के भन्न प¥यो भने कि अर्को साट्ने गरी मतपत्र पठाएको छ भनेर शंका नगरिदिनु । त्यो मतपत्रको सुरक्षा गर्न नेपाली सेनाको टुकडी हुन्छ । अव जेलाई पनि आशंका नै गर्ने हो भने तरिका जान्दै नजानिकन मलाई मेरो पद सकिन्छ कि डर छ । यसलाई म प्रष्ट पारौं–मेरो बुझाईमा मेरो अनुभवमा कसैले कहीँ मतपेटिका साटन सक्ने सम्भावना छैन । यस्तो खालको आशंका नराखिदिन म विनम्र अनुरोध गर्दछु ।’
प्रमुख निर्वाचन आयुक्त थपलियाले आफूले निर्वाचनमा मतपेटिका साटिन्छ भन्ने अनुभव कहिल्यै नगरेको बताए । उनले निर्वाचन आचारसंहिताको पालना गराउन आयोग कडाईका साथ लागि परेको समेत बताए ।
उनले भने, ‘भयरहित वातावरणमा निर्वाचन सम्पन्न हुनुपर्दछ । यसका लागि तपाईहरुको सहयोग, हाम्रो अभिभारा, अग्रजजीहरुको अनुभव, त्यसलाई फ्युजन गराएर हामी केही न केही नयाँपन निकाल्ने प्रयत्न गछौं । हाम्रो निष्ठामाथि शंका नगरिदिनोस् । बरु हामीलाई यसैगरी खवरदारी गरिदिनोस् ।’
प्रमुख निर्वाचन आयुक्त थपलियाले हरेक मतदान केन्द्रमा कम्तिमा एक जना पर्यवेक्षक परिचालन गर्ने योजना रहेको पनि बताए ।





























प्रतिक्रिया