सत्तारुढ गठबन्धनमा आवद्ध दलहरुको निर्वाचन परिचालन सचिवालय समितिको संयुक्त बैठकले निर्वाचनका क्रममा देखिएका समस्या समाधान गर्न पहल गर्ने निर्णय गरेको छ ।
बिहीवार नेपाली काँग्रेस पार्टीको केन्द्रिय कार्यालय सानेपामा नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका निर्वाचन परिचालन समितिमा आवद्ध नेताहरुको संयुक्त बैठक बसेर निर्वाचन परिचालनमा देखिएको समस्या समाधान गर्न पहल गर्ने निर्णय गरेको हो ।
नेपाली काँग्रेसकी केन्द्रिय सदस्य तथा काँग्रेसको निर्वाचन परिचालन सचिवालय समिति संयोजक अम्बिका बस्नेतको अध्यक्षतामा बसेको बैठकले चुनावी अभियानमा देखिएको समस्या समाधान गर्दै जाने विषयमा छलफल गरेको छ ।
बैठकबारे जानकारी दिँदै नेपाली काँग्रेसका नेता तथा काँग्रेस निर्वाचन परिचालन सचिवालय समितिको सह–संयोजक दिव्यमणि राजभण्डारीले गठबन्धनका समस्या समाधान गर्दै धेरै भोट प्राप्त गर्नेगरी चुनावी अभियानमा जाने विषयमा छलफल भएको बताए ।
उनले भने– ‘गठबन्धनमा देखिएका केही समस्या छ भने त्यस समस्यालाई निराकरण गर्दै जाने र चुनावमा कसरी धेरै भोट हाँसिल गर्नका लागि राम्रो समझदारीमा चुनावमा जानको निम्ति छलफल भयो । एकआपसमा सहकार्य गर्ने विषयमा छलफल भयो । नियमित छलफल गर्ने र समस्या निराकरण गर्ने र अगाडी बढ्ने प्रतिवद्धता भयो । हाम्रा साथीहरु टोल, वडादेखि राष्ट्रिय स्तरसम्म सबै साथीहरुलाई क्रियाशील गराउने, सबै साथीहरुलाई चुनाव परिचालनमा जुटाउने र अगाडी बढाउनुपर्ने भन्नेमा हामिले सन्देश दिएका छौँ ।’
नेकपा (माओवादी केन्द्र) का नेता महेश्वर दाहालले कतिपय ठाउँमा अझैपनि बागि उम्मेदवारहरु रहेकाले बागि फिर्ता गराउने विषयमा छलफल भएको बताए । गठबन्धनका नेता, कार्यकर्ताहरु नै चुनावमा सक्रिय नभएको भन्दै उनले त्यस्ता समस्या समाधानका लागि गठबन्धनमा छलफल अघि बढेको बताए ।
उनले भने –‘गठबन्धनमा उठेका उम्मेदवारहरु जहाँ जानुभएको छ, त्यहाँ दुई, तिनवटा समस्याहरु देखिए भन्ने छ । पहिलो कुरा, अझैपनि केही बागिहरु हुनुहुन्छ । अझै दुईवटा उम्मेदवारहरु भइरहनुभएको छ कतिपय ठाउँहरुमा । कतिपय ठाउँमा आफ्नै साथीहरु सक्रिय नभएको भन्ने छ । सबैतिर के–कस्तो छ भनेर समस्याहरुको बारेमा आज छलफल भए । कसरी समाधान गर्न सकिन्छ भन्ने विषयमा नेतृत्वसँग पनि कुरा गर्ने र अधिकतम परिचालन गर्नका लागि के गर्न सकिन्छ भन्ने विषयमा हामीले छलफल ग-यो ।’
बैठकमा नेपाली काँग्रेसको तर्फबाट नेताहरु अम्बिका बस्नेत, दिव्यमणि राजभण्डारी र सुरेश आचार्यको सहभागिता थियो भने नेकपा (माओवादी केन्द्र) बाट महेश्वर दाहाल, गोविन्द आचार्य र विष्णु सापकोटाको सहभागिता थियो । त्यसैगरी नेकपा (एकीकृत समाजवादी) बाट लक्ष्मण केसी, लोकतान्त्रिक समाजवादी पार्टीबाट दामोदर आचार्य र राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरीको उपस्थिति रहेको थियो ।































प्रतिक्रिया