चुनाव प्रचारप्रसारमा भारतीय गाडी प्रयोग, आयोगको ध्यानाकर्षण

चुनाव प्रचारप्रसारमा भारतीय गाडी प्रयोग, आयोगको ध्यानाकर्षण

केन्द्रबिन्दु
0
Shares

महिला,बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव डिल्लीराम शर्माले भारतीय नम्बर प्लेटका सवारीसाधनको प्रयोग गरी चुनाव प्रचारप्रसार गरेको पाइएको भन्दै निर्वाचन आयोगको ध्यानाकर्षण गराएका छन् ।

आईतवार निर्वाचन आयोगमा भएको निर्वाचन आचारसंहीता कार्यान्वयन सम्बन्धी एकीकृत कार्ययोजना विषयक छत्रफल कार्यक्रममा बोल्दै सचिव शर्माले यस्तो बताएका हुन् । उनले विशेष गरी तराईका जिल्लाहरुमा राजनीतिक दलका उम्मेद्वारहरुले भारतीय नम्बर प्लेटका गाडी र सरकारी गाडीमा पार्टीको झण्डा प्रयोग गरी प्रचार गरेको बताए । 

उनले भने, ‘राजनीतिक दलका उम्मेद्वारहरुले तराईका जिल्लाहरुमा भारतीय नम्बर प्लेटका सवारीहरु प्रयोग गर्ने तथा सरकारी र पार्टीको झण्डा राखेर चुनाव प्रचार गरेको देखियो । प्रहरीलाई पनि म आफैँले भने प्रहरीहरुले हिजो निकालेको हो तर आज फेरि झण्डा हालेर राखेछन् भन्नुभयो । निर्वाचन आचारसंहीता लागू गर्नुपर्छ भन्ने भएको छ । तर उम्मेद्वारहरुको चाहीँ आचारसंहितामा ध्यान नगएको देखिन्छ । त्यो विषयमा अझ निगरानी गर्नुपर्छ ।’

कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा. वैकुण्ठ अर्यालले चुनाव प्रचारमा निर्वाचन आचारसंहीता अनुसार सामाजिक सञ्जाल नियन्त्रण गर्न समस्या रहेको बताए । उनले सञ्चार माध्यमहरुमा कुनै समस्या नभएको भन्दै सामाजिक सञ्जाल नियन्त्रण गर्ने विषयमा सोच्नुपर्ने बताए । 

उनले भने, ‘सामाजिक सञ्जालहरुको सन्दर्भमा फेसबुकसँग निर्वाचन आयोजको सहकार्य रहेको छ । तर अहिले ट्वीटरमा सरकारी निकायमा बस्नेहरुले कुनै एउटा उम्मेद्वारको पक्ष वा विपक्षमा मत मागिरहेकाले सम्झाउनुपर्ने अवस्था देखिएको छ । यो विषयमा गाह्रो भएको छ । सञ्चारमाध्यहरुको विषयमा समस्या देखिएको छैन । सामाजिक सञ्जालको विषयमा केही समस्या रहेको छ अब त्यसलाई कसरी नियन्त्रण गर्न सकिन्छ, त्यो बारेमा आयोगले ध्यान दिनुपर्छ ।’

त्यस्तै, नायब महान्यायाधिवक्ताको कार्यालयका नायब महान्यायाधिवक्ता कृष्णजीवि घिमिरेले राजनीतिक दलका उम्मेद्वारहरुले चुनाव प्रचारप्रसारमा निर्वाचन आयोगको आचारसंहीता पालनामा अटेरी गरेको बताए । उनले भने, ‘उम्मेद्वारहरुले चुनावप्रचार गर्दा गाडी, झण्डाको प्रयोगमा अटेरीपन देखिएको छ । निर्वाचन आचारसंहीता भन्दा बाहिर गएर चुनाव प्रचार गरे कारबाही हुन्छ भनेर प्रचार गर्नु जरुरी छ । सामाजिक सञ्चालका विषयमा प्रभावकारी रुपमा काम गर्नुपर्ने देखिन्छ।’

पूर्व गृहसचिव एवं ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालका पूर्वअध्यक्ष खेमराज रेग्मीले निर्वाचन पर्यवेक्षकहरुले निर्वाचनमा भोट हाल्न महिला,पुरुष र शारीरिक अशक्तता भएका व्यक्तिलाई कस्तो व्यवस्था छ भन्ने बारेमा गम्भीर अध्ययनको आवश्यक्ता रहेको बताए । उनले महिला,पुरुष र अपाङ्गको लागि छुट्टै लाइनको व्यवस्था भन्दा पनि निर्वाचन धाँधली हुने विषयलाई गहिरो अध्ययन गर्न जरुरी रहेको बताए । 

रेग्मीले निर्वाचनमा भाग लिन जान सर्वसाधारण डराएको वा डराएर स्वतन्त्र रुपमा आफूले चाहेको पार्टी वा उम्मेद्वारलाई भोट दिनबाट वञ्चित भएको लगायतका विषयमा अध्ययन गर्नुपर्ने आवश्यक्ता औंल्याए । उम्मेद्वाररुले खर्च कटौतीका विषयहरु आचारसंहीताअनुसार गरे/नगरेको आयोगले छुट्टै अनुसन्धान टोली बनाएर अध्ययन गर्नुपर्ने पनि उनले बताए । 

Logo