निर्वाचन आयोगले सामाजिक सञ्जालमा पोस्ट गरेका निर्वाचन प्रचारप्रसार सम्बन्धित सामग्रीहरु मंसिर १ गते राति १२ बजेसम्म हटाउन निर्देशन दिएको छ ।
आयोगले सामाजिक सञ्जालमा पोस्ट भएका निर्वाचन प्रचारप्रसार सम्बन्धित सामग्रीहरु मंसिर १ गते राति १२ बजेसम्ममा हटाइसक्न राजनीतिक दल तथा उम्मेदवारहरुलाई निर्देशन दिएको सहप्रवक्ता कमल भट्टराईले जानकारी दिए । निर्वाचन आचारसंहीता बमोजिम स्थिर समय शुरु हुनुभन्दा ४८ घण्टा अघिबाट राजनीतिक दल र उम्मेदवारहरुले कुनैपनि तरिकाबाट निर्वाचन प्रचारप्रसार गर्न नपाउने उनले बताए ।
मतदान केन्द्रबाट ३ सय मिटर वरीपरी कुनै पनि दल वा उम्मेदवारको प्रचारप्रसार सामग्री भए तत्काल हटाउनुपर्ने, निर्वाचनको वातावरण बिथोलिने कुनै पनि किसिमको सभा, सम्मेलन, भोजभतेर, लगायत कार्यलाई पनि पूर्ण रुपमा निषेध गरिएको छ ।
उनले भने, ‘यस सन्दर्भमा आयोगले १ गते राति १२ बजेबाट कुनैपनि राजनीतिक दल तथा उम्मेदवारले समाजिक सञ्जाल तथा अनलाइनको प्रयोग गरेर उम्मेदवारको पक्ष र विपक्षमा मत माग्न नपाइने गरी निर्देशन जारी गरेको छ । त्यसपूर्व नै सामाजिक सञ्जालमा कुनै त्यस्तो विज्ञापन छ भने त्यो अवधि शुरु हुनुभन्दा अगावै त्यस्ता किसिमका सामग्री सम्बन्धित सामाजिक सञ्जाल तथा अनलाइनबाट हटाउनसमेत आयोगले निर्देशन जारी गरेको छ । अटेर गरी विज्ञापन नहटाउने उम्मेदवार र राजनीतिक दललाई निर्वाचन आचारसंहीता २०७९ को उल्लंघन भएको ठहर गरी आयोगले निर्वाचन आयोग ऐनको दफा २३ र निर्वाचन आचारसंहीता २०७९ एवं निर्वाचन कसुर तथा सजाय ऐन बमोजिम आवश्यक कारबाही गर्नेछ ।’
निर्वाचन आयोगले राजनीतिक दल तथा उम्मेदवारहरुले सामाजिक सञ्जालमा पोस्ट गरेका निर्वाचन सम्बन्धी प्रचारप्रसारका सामग्री हटाए/नहटाएको अनुगमन गर्न निर्देशन दिने बताएको छ ।































प्रतिक्रिया