दाङमा पुरुष उम्मेदवारसँग भिड्दै महिला उम्मेदवार

दाङमा पुरुष उम्मेदवारसँग भिड्दै महिला उम्मेदवार

केन्द्रबिन्दु
0
Shares

दाङमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा महिला उम्मेदवार ‘हेविवेट’ पुरुष उम्मेदवारसँग प्रतिस्पर्धा गर्दैछन् । 

दाङ निर्वाचन क्षेत्र नं १ मा सत्ता गठबन्धनका उम्मेदवार नेकपा (एकीकृत समाजवादी) का  मेटमणि चौधरी र उनको प्रतिस्पर्धीमा नेकपा (एमाले) की शान्ता चौधरी चुनावी मैदानमा छन् । दाङ क्षेत्र नं २ मा एमालेका शङ्कर पोखरेलसँग सत्ता गठबन्धनका तर्फबाट माओवादी केन्द्रका स्थायी कमिटी सदस्य रेखा शर्मा तथा दाङ क्षेत्र नं ३ मा नेपाली कांग्रेसका दीपक गिरीसँग एमालेकी कोमल वलीले प्रतिस्पर्धा गर्दै छन् । 

मेटमणि सहरी विकास मन्त्रीसमेत हुन्। उनी दोस्रो पटक निर्वाचन लड्दै छन् । यसअघि २०७४ सालमा वाम गठबन्धन हुँदा देउखुरीबाट कांग्रेसका उम्मेदवार सुशीला चौधरीलाई हराउँदै उनी विजयी भएका थिए । विसं २०६४ मा पहिलो पटक समानुपातिकतर्फबाट एमाले सांसद भएकी शान्ता २०७४ सालमा पनि समानुपातिकबाटै सांसद हुँदै सचेतक भएकी थिइन् ।  

दुई पटक समानुपातिकबाट सांसद भएकी शान्ता प्रत्यक्षतर्फ दोस्रो पटक प्रतिस्पर्धा गर्दै छिन् । विसं २०७० को दोस्रो संविधानसभाको निर्वाचनमा उनी दाङ २ मा प्रत्यक्षतर्फ कांग्रेसकी सुशीला चौधरीसँग पराजित भएकी हुन् । अहिले त्यही क्षेत्रबाट मेटमणिसँग प्रतिस्पर्धा गर्दै छन्। 

तत्कालीन अवस्थामा क्षेत्र नं २ देउखुरी क्षेत्रमा पर्थ्यो । सङ्घीयतापछि समग्र देउखुरीलाई समेटेर घोराही र बङ्गलाचुलीको केही वडा समेटेर क्षेत्र नं १ बनाइएको छ । अहिले पनि भूगोलका हिसाबले त्यही क्षेत्रबाट निर्वाचन लड्दै छन् । यद्यपि उनको मतदाता नामावली चाहिँ घोराही उपमहानगरपालिका–४ मा पर्छ जुन निर्वाचन क्षेत्र नं २ हो । 

गत स्थानीय तह निर्वाचनमा गठबन्धन एमालेभन्दा दोब्बर मतले अघि देखिन्छ । एकीकृत समाजवादीलाई काँग्रेस र माओवादीले साथ दिएमा मेटमणिलाई जित्न सहज हुने देखिन्छ । गठबन्धनको मत सबै आफूलाई प्राप्त हुने चौधरीको दाबी  छ । “यो गठबन्धन कुनै चुनाव जित्नलाई मात्रै नभई यो विशेष परिस्थितिमा मुलुक जोगाउन गरिएको हो”, उनी भन्छन्, “त्यसैले गठबन्धनको मत बाहिर जाँदैन, चुनाव हामीले जित्छौँ ।” यो क्षेत्रमा २०७४ सालमा काँग्रेसले २१ हजार तीन सय २९ समानुपातिक मत पाएको थियो भने एमालेले २२ हजार पाँच सय ९९ र माओवादी केन्द्रले १४ हजार आठ सय छ मत ल्याएको थियो । 

एमाले विभाजन भए पनि मतमा भने खासै अन्तर देखिएको छैन । थारुको बाहुल्यता भएको यो निर्वाचन क्षेत्रमा सबै उम्मेदवारको आँखा थारु मतदातामै छ । शान्ताले आफू पूर्वकमलरी हुँदै कमलरी मुक्तिका लागि खेलेको भूमिका महत्त्वपूर्ण भएकाले थारु समुदायले भोट दिने अपेक्षा  गरेकी छन् । “थारु समुदाय निकै पछाडि परेको समुदाय हो, म आफैँ पनि अर्काको घरमा कमलरी बसेर आएको मान्छे हुँ”, उनले भनिन्। 

क्षेत्र नंं १ मा एमालेका केन्द्रीय सदस्य गङ्गा चौधरीले पार्टी परित्याग गरी भर्खर खुलेको हाम्रो नेपाली पार्टीबाट उम्मेदवारी दिएकी छन् । उनी दुई पटक समानुपातिकतर्फबाट सांसद भइन् । विसं २०७० मा उनी थरुहट तराई पार्टीको तर्फबाट समानुपातिक सांसद भइन् । यो भने २०७४ सालमा एमालेको तर्फबाट समानुपातिक सांसद भएकी थिइन् । 

दाङ क्षेत्र नं २ मा एमाले शङ्कर पोखरेलसँग गठबन्धनका तर्फबाट माओवादी केन्द्रका स्थायी कमिटी सदस्य रेखा शर्माबिच चुनावी टक्कर हुने देखिन्छ । विसं २०७० र २०७४ को निर्वाचनमा उनी समानुपातिक सांसद थिए । विसं २०७२ मा उनी सामान्य प्रशासन मन्त्री समेत भए । अहिले शर्माले पोखरेलसँग पहिलो पटक प्रत्यक्ष निर्वाचनतर्फ सामना गर्दै छन् । 

एमाले महासचिव पोखरेल पनि धेरै पटक प्रत्यक्ष निर्वाचन लडिसकेका छन् ।  विसं २०५१ को प्रतिनिधिसभा सदस्य र २०७४ सालको प्रदेशसभा निर्वाचनमा मात्रै उनले सफलता हात पारे । उनले २०५६ सालको चुनावमा कृष्ण किशोर घिमिरेसँग हार बेहोरे भने २०७० सालको निर्वाचनमा दाङ क्षेत्र नं ४ बाट बुद्धिराम भण्डारीसँग पराजित भए । विसं २०६४ को निर्वाचनमा भने उनी समानुपातिक सांसद बने । त्यसबिचमा उनी मन्त्री भए भने विसं २०७४ को निर्वाचनपछि लुम्बिनी प्रदेशको मुख्यमन्त्री बने । 

त्यति बेला उनले दाङ क्षेत्र नं २ को प्रदेशसभा १ बाट चुनाव जिते । स्थानीय तह निर्वाचनमा वडाध्यक्षका उम्मेदवारले पाएको मतका आधारमा वाम लोकतान्त्रिक गठबन्धन र नेकपा (एमाले)का उम्मेदवार बिच कडा प्रतिस्पर्धा हुने देखिन्छ । विसं २०७४ मा काँग्रेसले २२ हजार ९२ समानुपातिक मत पाएको थियो, भने एमालेले २२ हजार आठ सय ६९  र माओवादी केन्द्रले १७ हजार पाँच सय ८४ मत ल्याएको थियो । 

दाङ क्षेत्र नं ३ मा पटक–पटक प्रत्यक्ष निर्वाचन लडेर निखारिएका कांग्रेसका केन्द्रीय सदस्य दीपक गिरीसँग एमालेकी कोमल वलीले पहिलो पटक प्रतिस्पर्धा गर्दै छिन् । गिरीले यसअघि एक पटक मात्रै निर्वाचन जिते । विसं २०५१ मा तत्कालीन दाङ क्षेत्र नं ३ बाट एमाले नेता शङ्कर पोखरेलसँग हार बेहोरेका गिरीले २०५६ सालमा निर्वाचन लडेनन् । उनको ठाउँमा गेहेन्द्र गिरीले चुनाव लडे । र उनले जित हात पारे । 

विसं २०६४ मा दाङ क्षेत्र नं ५ बाट माओवादीकी सुष्मा शर्मा घिमिरेसँंग गिरी पराजित भए। विसं २०७० मा भने उनले चुनाव जिते । उनी २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा एमालेका तत्कालीन जिल्ला सचिव हीराचन्द्र केसीसँग पराजित भए । वली भने यसअघि एमालेबाट २०७४ सालमा राष्ट्रियसभा सदस्य भएकी थिइन् । विसं २०७४ को निर्वाचन अनुसार काँग्रेसले यो क्षेत्रमा ३० हजार पाँच सय ७२ समानुपातिक मत पाएको थियो भने एमालेले २७ हजार पाँच सय ४३ र माओवादी केन्द्रले १० हजार आठ सय पाँच मत पाएको थियो ।  

 

Skip This
Skip This
Logo