काठमाडौँ जिल्ला निर्वाचन क्षेत्र नं १० बाट नेपाली कांग्रेसका राजेन्द्रकुमार केसी विजयी भएका छन् ।
छैसठ्ठी वर्षीय उनि बिना गठबन्धन यस क्षेत्रबाट तेस्रो पटक विजयी भएका हुन् । चौध हजार चार सय ५८ मतसहित विजयी भएका केसीले निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का हिमेस केसीलाई दुई हजार छ सय ७२ मततान्तरले पछि पारेका हुन् । उनले भने “मैले यसअघि गरेको राम्रो कामले मतदाताको विश्वास जितेका कारण तेस्रो पटक पनि विजयी भएको छु । आममतदाताप्रति यो विश्वासका लागि धन्यवाद दिन चाहन्छु । म निष्पक्ष र निष्कलङ्क भएर काम गर्न चाहन्छु ।”
लामो समय राजनीतिक एजेन्डामा काम गरेको र अब आर्थिक विकासका लागि काम गर्ने केसीले बताए, “मुलुकको एजेन्डा आर्थिक विकास हो । समृद्धको यात्रा नै मेरो एजेन्डा हो ।” कीर्तिपुर ६, चोभारको स्थायी बासिन्दा उनले संविधानसभा सदस्यको निर्वाचन २०७० देखि संसदीय यात्रा सुरु गरेका हुन् ।
पहिलो पटक काठमाडौँ १० बाट नै निर्वाचित भएका थिए । केसी दोस्रो पटक ०७४ सालमा यही क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा विजयी हुनुका साथै सोही वर्ष युवा तथा खेलकुदमन्त्री बनेका थिए । दोस्रो संविधानसभा सदस्य निर्वाचनमा तत्कालीन माओवादीका अध्यक्ष पुष्पकमल दाहाललाई पराजित गरेर चर्चामा आएका केसी पहिलो संविधानसभा सदस्यको निर्वाचनमा प्रचण्डसँगै पारजित भएका थिए ।
स्नातकोत्तरसम्म अध्ययन गएका उनको राजनीतिक यात्रा भने विसं २०३० देखि नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी सङ्घबाट सुरु भएको हो । विसं २०४६ देखि पार्टीगत राजनीतिमा सक्रिय हुँदै केसी २०५१ र ०५६ सालमा कांग्रेसको क्षेत्रीय सभापति बने। चार पटकसम्म कांग्रेस महासमिति सदस्य रहेका उनि कृषि चुन उद्योगको बोर्ड अफ डाइरेक्टर, हिमाल सिमेन्टको बोर्ड सदस्य र ल्याबोरेटरी विद्यालयको सञ्चालक समितिमा आबद्ध भएका थिए ।





























प्रतिक्रिया