नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का सांसद प्रेम सुवालले स्वदेशमै रोजगारी दिनसक्ने कानून निर्माण गर्न आफूले संसदमा आवाज उठाउने बताएका छन् ।
शनिवार भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ का मतदाताहरुलाई धन्यवाद दिन निकालिएको विजयी जुलुसपछि सञ्चारकर्मीहरु सँग कुरा गर्दै सुवालले आफ्नो दबाब स्वदेशमै राजगारी सिर्जना गर्ने कानून निर्माणमा रहने बताएका हुन् । भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ बाट विजयी भएका उनले देशभरका मजदुर किसान, काम गरी खाने जनतालाई फाइदा हुने कानून निर्माणमा आफू हरक्षण माग गरिरहने बताए ।
उनले भने- ‘संसद भनेको कानून बनाउने ठाउँ हो, यदी एउटा कानून राम्रो बनाउन सक्यौँ भने देशभरका मजदुर किसान, काम गरी खाने जनतालाई फाइदा हुन्छ । हाम्रै देशमा हाम्रो छोराछोरीलाई काम दिनुपर्छ भनेर कानून बनायौँ भने हाम्रा युवाहरु अहिले ७०/८० लाख विभिन्न देशमा सस्तो ज्यामीको रुपमा गइरहेका छन्, उनीहरु जानुपर्दैन । हाम्रै देशमा काम दिनुपर्छ भनेर कानून बनायौँ भने सबैले हाम्रै देशमा काम पाउँछन् । यस्तै आवाज हामीले संसदमा उठाउने हो । हामीले मल कारखाना हाम्रै देशमा खोल्नुपर्छ भनेका छौँ तर मन्त्रीहरु नै भारतसँग किन्ने र पैसा खाने गर्छन् । उनीहरुको काम नै त्यही हो । हाम्रै देशमा निःशुल्क स्वास्थ्य उपचारको व्यवस्थाका लागि कानून बनाउन आवाज उठाउनेछौँ ।’
नेता सुवालले भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ बाट नेकपा एमालेका उम्मेदवार नवराज गेलाललाई ३० हजार ७९३ मतान्तरले पराजित गर्दै विजयी भएका थिए । सुवालले४२ हजार ७१६ मत ल्याएका थिए भने प्रतिष्पर्धी गेलालले ११ हजार ९६८ मत मात्रै ल्याएका थिए । भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ को २ मा नेपाल मजदुर किसान पार्टीकै सुरेन्द्रराज गेसाई विजयी भएका छन् भने १ को १ बाट भने नेपाली काँग्रेसका सुरेश श्रेष्ठ विजयी भए ।































प्रतिक्रिया