नेपाली कांग्रेसका महामन्त्री तथा झापा क्षेत्र नं. १ बाट नवनिर्वाचित प्रतिनिधि सभा सदस्य विश्वप्रकाश शर्माले अर्का महामन्त्री गगनकुमार थापालाई प्रधानमन्त्री बनाउने अभियान शुरु गर्ने बताएका छन् ।
मंगलवार काठमाडौंस्थित महामन्त्री थापाको घरमा बधाई ज्ञापन गर्न पुगेका महामन्त्री शर्माले गगन थापालाई प्रधानमन्त्री बनाउने अभियान शुरु गर्ने बताएका हुन् । झापा क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएपछि काठमाडौं आएका शर्मा विमानस्थलबाट सिधै थापा निवास रातोपुल पुगेर बधाई तथा प्रधानमन्त्री बन्ने शभकामना व्यक्त गरेका थिए ।
महामन्त्री शर्माले आफू थापालाई सांसद भएकोमा बधाई दिनका लागि मात्रै नआएको भन्दै प्रधानमन्त्री बनाउने अभियान शुरु गर्नका लागि आएको बताए ।
उनले भने– ‘अहिले म यहाँनिर महामन्त्री गगन थापालाई बधाई दिन आएको भनेको काठमाडौं ४ बाट निर्वाचित हुनुभयो तपाई सांसद बन्नुभयो भनेर बधाई दिन आएको होइन । सांसद पहिल्यै भइसक्नु भएको हो पटक पटक । मन्त्री भएर अनुभव पनि हाँसिल गरिसक्नुभएको हो । अब देशको आवाज के हो ? देशको आवश्यकता के हो ? त्यो आवश्यकतालाई बुझेर नेतृत्व गर्ने ढंगले तपाई अब, प्रधानमन्त्री पदको लागि नेतृत्व गर्ने ढंगले अगाडी बढ्नुस् भन्नका लागि म आएको हो । त्यो भन्ने कुरा मात्रै होइन त्यस विषयको अभियानलाई शुरु गर्नलाई पनि म आएको हो । अब हामी दुई, तीन दिन भित्रमा देशभरीका साथीहरु सबै आ–आफ्नो क्षेत्रमा मतदाताहरुलाई सम्मान गर्ने, आभार प्रकट गर्ने कार्य गरिसकेर काठमाडौं उपस्थित हुन्छौँ ।’
महामन्त्री शर्माले गगन थापालाई संसदीय दलको नेता बनाउन पार्टीभित्रका शीर्ष नेताहरु र सांसदहरुसँग छलफल अगाडी बढाउने बताए । उनले गगन थापालाई संसदीय दलको नेताका लागि पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल लगायतको समर्थन जुटाउनु आफ्नो जिम्मेवारी र कर्तव्य भएको पनि बताए ।
उनले भने- ‘मेरो प्रयत्न के रहन्छ भने प्रश्तावकको रुपमा शेरबहादुर देउवाको नाम लेख्नसक्ने परिस्थिति बनाउनु चाहीँ मेरो जिम्मेवारी हुन्छ । रामचन्द्र पौडेलको नाम लेख्ने बनाउनु हाम्रो कर्तव्य हुन्छ । कतिपयले बहुमत पुग्छन् भनेर मलाई भन्नुहुन्छ । बहुमत भन्नेकुरा प्राविधिक कुरा हुनसक्छ । विवेक भन्ने कुरा समयलाई बुझेर विश्लेषण गर्नुपर्ने कुरा हुन्छ । त्यो विकेकले के भन्छ अहिले भन्दैगर्दा अब नेतृत्वलाई परिवर्तन गरेर जाउ, नेतृत्वलाई अब अगाडी सारेर जाउ । सबै सांसदलाई सोधेर छलफल गर्छौं । प्रश्तावक अग्रज नेता बस्ने कुरामै हामी लाग्छौँ । मेरो विश्वास हो । सर्वसहमतिमा पु-याउन सकिएन, प्रस्तावक लेख्नुपर्दै गर्दा, उभिनुपर्दा म आफैँ प्रश्तावक बस्नेकुरा स्वभाविक छ । त्यो म गरेर उभिन्छु ।’































प्रतिक्रिया