रवि लामिछानेको सांसद पद खारेजीको माग गर्दै सर्वोच्चमा रिट दायर

रवि लामिछानेको सांसद पद खारेजीको माग गर्दै सर्वोच्चमा रिट दायर

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सांसद पद खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । 

चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका लामिछानेको नागरिकताको वैधानिकतामाथि प्रश्न उठाउँदै सांसद पद खारेजीको माग राखेर सिन्धुलीका युवराज पौडेल(सफल)ले सर्वाेच्चमा रिट दायर गरेका हुन् । उनले राष्ट्रिय स्वतन्त्र पार्टीसहित निर्वाचन आयोग, संघीय संसद र जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई विपक्षी बनाएका छन् ।

अमेरिकाको नागरिकता प्राप्त गरेपछि नेपाली नागरिकता कायम नरहेको अवस्थामा आफ्नै अध्यक्षतामा दल दर्ता गरेको, सोही अवस्थामा उम्मेदवारी दिएर प्रतिनिधिसभामा सदस्यमा निर्वाचित भएकाले उनको सांसद पद र पार्टी सभापति खारेज गर्न दायर रिटमा माग गरिएको छ । साथै साे मुद्दाको किनारा नलाग्दासम्म लामिछानेलाई प्रतिनिधिसभा प्रवेश तथा सपथ नगर्न/नगराउनमा पनि रोक लगाउन रिटमा माग गरिएको छ । 

‘निज रबि लामिछानेले चितवन निर्बाचन क्षेत्र नं. २ मा उम्मेदवार हुन् निबेदन दिएको अवस्था र निजको निर्बाचनको परिणाम घोषणा भएको अवस्थासम्म पनि बैध रुपमा नेपालको नागरिक नभएको प्रस्ट हुँदा हुँदै र प्रतिनिधि सभा सदस्य निर्बाचन ऐन, २०७४ को दफा १५ बमोजिम निर्बाचनको परिणाम घोषणा नहुँदै योग्यता सम्बन्धमा परेका उजुरी उपर निर्बाचन आयोगले नै निर्णय गर्नु पर्ने प्रस्ट व्यवस्था उक्त दफा १५(५) मा हुँदा हुँदै सो कानूनी कर्तब्य पूरा नगरी निर्बाचन परिणाम घोषणा भई सकेको भनि बहाना बनाई यस्तो गम्भीर बिषयमा निर्णय गर्नु पर्ने दायित्व बाट पन्छीने कार्य गरी अयोग्य व्यक्तिलाई प्रतिनिधि सभा सदस्य बन्न दिने गरी मिति २०७९/०८/१३ मा निर्बाचन आयोगले गरेको निर्णय र निज रबि लामिछानेलाई प्रतिनिधि सभा सदस्यको रुपमा मान्यता दिने सम्पूर्ण दस्ताबेज एंब प्रमाणपत्र उत्प्रेषणको आदेशले बदर गरी पाउँ ।’ रिटमा उल्लेख छ । 

Logo