प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको काम कारबाही जनमुखि, पारदर्शी र नागरिकप्रति जवाफदेही हुनुपर्ने बताएका छन् ।
प्रधानमन्त्री देउवाले नागरिक नजिकको सरकार भएकाले पनि स्थानीय तहको कामकारबाही नागरिकप्रतिनै जवाफदेही हुनुपर्ने प्रष्टयाएका हुन् । ललितपुर महानगरपालिकाको १०४औं स्थापना दिवसको अवसर पारेर शनिबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले नेपालको संविधानले स्थानीय तहलाई विकास, निर्माण र जनसेवाको आधार स्तम्भको रुपमा महत्वपूर्ण अधिकार र जिम्मेवारी प्रदान गरेकाले सोही अनुसारको काम हुनुपर्ने उल्लेख गरे ।
प्रधानमन्त्री देउवाले ललितपुर महानगरपालिकाले जनताको अपेक्षा अनुसार विश्वका अन्य मुलुकमा पनि नेपाल र नेपाली जनताको पहिचान हुने गरी आफ्नो कामलाई अघि बढाएको भन्दै प्रशंसा समेत गरे । उनले ललितपुर महानगरलाई सांस्कृतिक स्मार्ट सहरको रुपमा विकास हुने गरी काम गर्नुपर्नेमा पनि जोड दिए ।
उनले भने- ‘ललितपुर महानगरपालिकाका जनप्रतिनिधिहरुले नागरिकको अपेक्षा अनुसार यस महानगरलाई नमूना महानगरको रुपमा काम गर्ने हिसावले जिम्मेवारपूर्ण ढंगले नागरिकको सेवालाई अघि बढाउनु हुनेछ भन्ने विश्वास लिएको छु । मौलिक कला, संस्कृति र साहित्य महानगरपालिकाका अमूल्य सम्पदा हुन् । यस महानगरपालिका भित्र राष्ट्रिय गौरवका प्राचिन सम्पदाहरु नेपाललाई विश्वमा चिनाउने महत्वपूर्ण धरोहर र वैभव हुन् । यस महत्वपूर्ण निधि र सम्पदाको संरक्षण र सम्वद्र्धन गर्दै यस महानगरपालिकालाई मुलुककै सम्पदा र संस्कृतिको केन्द्रको रुपमा विकास गर्न जनप्रतिनिधि र महानगरबासीले एकआपसमा हातेमालो गर्दै अघि बढ्न आवश्यक छ । ललितपुर महानगरपालिकाले सम्पदाहरुको संरक्षणका लागि गरेका कामहरु प्रशंसनीय छ ।’
त्यस अवसरमा प्रधानमन्त्री देउवाले नागरिकलाई खुसी बनाउने गरी ललितपुर महानगरको सम्पदाहरुको संरक्षण र सम्वद्र्धनको काम भईरहेको भन्दै त्यसलाई निरन्तरता दिएर अघि बढ्न थप क्रियाशील हुन आग्रह गरे । भौतिक पूर्वाधारहरुको विकास गर्दा नागरिकको जीवनलाई सहज हुने गरी अघि बढाउन पनि स्थानीय तहका जनप्रतिनिधिहरुले मिलेर काम गर्नुपर्ने उनको भनाई थियो ।





























प्रतिक्रिया