काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले नेवाः सभ्यतासम्बन्धि विश्वविद्यालय स्थापना र बागमती नदीको सफाईका लागि सहकार्य गर्न ललितपुर महानगरपालिकासँग प्रस्ताव गरेका छन् ।
ललितपुर महानगरपालिकाको १०४औं स्थापना दिवसको अवसर पारेर शनिबार आयोजित एक कार्यक्रममा बोल्दै मेयर साहले सो प्रस्ताव गरेका हुन् । यी दुवै काम काठमाडौं महानगरपालिका र ललितपुर महानगरपालिका एक्लाएक्लैले गर्न नसक्ने भएकाले यसमा दुवै महानगरपालिकाको सहकार्य अनिवार्य रहेको उनको तर्क थियो ।
मेयर साहले नेवाः सभ्यतासम्बन्धि विश्वविद्यालय र बागमती सफाईको काममा मात्रै दुवै महानगरपालिकाले सहकार्य गरेर गए त्यो काठमाडौं उपत्यकाको विकासको लागि नै राम्रो सन्देश हुने समेत स्पष्ट पारे ।
‘ललितपुर महानगरपालिका एकदमै जेठो नगरपालिका भएको हुनाले हाम्रो सम्पदा, संस्कृति अथवा नेवाः सभ्यतासम्बन्धि युनिभर्सिटीका लागि पनि पहल गरिदिन पनि म यहीबाट अनुरोध गर्न चाहन्छु । त्यसका लागि काठमाडौं महानगरपालिका र ललितपुर महानगरपालिकाले सहकार्य गरेर गर्न सक्छ । त्यसका लागि स्थान काठमाडौंमा पनि सक्छ अथवा ललितपुरमा नै हुन पनि सक्छ ।’ उनले भने, ‘ललितपुरमा अलिकति जग्गाको अभाव नभएको हुनाले त्यसका लागि पहल गरिदिनु भयो भने हाम्रो सभ्यताको अभिलेखीकरण पनि हुन्छ । यसलाई हामी अन्तर्राष्ट्रियकरण गर्न सक्छौं । हाम्रा कलाकौशलहरु त्यसमा अन्तर्राष्ट्रियकरण गर्न सक्छौं । हाम्रा बाजाहरुलाई डिग्रीको कोर्समा समावेश गर्न सक्छौं । नेवाः सभ्यता भित्र धेरै पक्षहरु छन । सम्पूर्णलाई मान्छेले पढुन । हाम्रा पुस्तान्तरण गर्न पाउ । अव आउने नयाँ पुस्ताले त्यो कुरालाई सिक्नु पाउन पाउने अवसर दिन सकियोस् भन्ने चाहना पनि छ ।’
उनले थपे- ‘दुवै महानगरपालिकाले गर्नुपर्ने चिज भनेको बागमतीको स्थायी सरसफाई नै हो । अस्थायी सफाई अभियान त धेरै हुन्छन् । स्थायी रुपमा यसको सरसफाई गर्नलाई काठमाडौं र ललितपुर महानगर दुवैले सहकार्य गर्नुपर्छ । यो काम काठमाडौं एक्लैले पनि सक्दैन । ललितपुर एक्लैले पनि सक्दैन । बागमतीको पानीलाई निलो सफा पानी बनाउन हामीले त्यसमा सहकार्य गर्नै पर्दछ ।’
मेयर साहले सम्पदाहरुको संरक्षणमा ललितपुर महानगरपालिकाबाट काठमाडौं महानगरपालिकाले धेरै कुराहरु सिक्नुपर्ने बताए । उनले प्राचीन ढुंगेधाराहरुको संरक्षणमा ललितपुर महानगरपालिकाले अघि सारेको अवधारणाबाट सिकेर आफूहरुले पनि सो कामलाई अघि बढाउन पुल्चोक इन्जिनियरिङ कलेजसँग सहकार्य गरेर अघि बढन लागेको जानकारी समेत दिए ।





























प्रतिक्रिया