काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का ६१ जना सांसदहरुले पार्टी फुटन नदिने प्रतिबद्धता जनाएका छन् । आइतबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै सांसदहरुले पार्टी एकताको पक्षमा लाग्ने प्रतिबद्धता जनाएका हुन् ।
पार्टीभित्र देखिएको संकट साम्य पार्नका लागि नेतृत्व तहलाई दबाब दिन र पार्टी एकतालाई थप सुदृढ बनाउन कतै पनि विभाजित नभई एकताको पक्षमा उभिएको उनीहरुको भनाइ छ । सांसदहरुले आफूहरु तीन वटै नेतालाई भेटन जाने नभई तीन वटै नेताहरुलाई भेटन आउने वातावरण बनाउनुपर्नेमा जोड दिएका छन् । आफूहरुको हस्ताक्षरलाई विशेष अधिवेसन बोलाउन गरिएको अभियानका रुपमा नबुझ्न समेत उनीहरुको आग्रह छ ।
शीर्ष नेताहरुले टाउको गनेर पार्टी विभाजन गर्ने सपना देख्ने सपना पूरा हुन नदिन अभियान थालिएको सांसदहरुले स्पष्ट पारेका छन् । उनीहरुले पार्टी अहिले चौथो युगमा प्रवेश गरिसकेको र पाँचौ युगलाई हस्तान्तरण गर्ने अवस्थामा सांसदहरुलाई कित्तामा विभाजन नगर्न समेत नेतृत्वलाई चेतावनी दिएका छन् । उनीहरुले पार्टी फुटाउने गरी दुर्भाग्यपूर्ण स्टेप नचाल्न र कार्यकर्तालाई त्यसमा प्रोत्साहन नगर्न समेत आग्रह गरे । विचार धारा, वैचारिक र संगठनात्मक हिसाबले सुदृढ कम्युनिष्ट पार्टी नयाँ पुस्तालाई हस्तान्तरण गर्न लागेको हो कि पार्टीलाई टुटफुट पारेर खरानी मात्रै बुझाउन लागेको हो भन्दै सांसदहरुले प्रश्न समेत गरेका छन् । उनीहरुले नेतृत्वले समस्या समाधान नगरे हस्तक्षेप गर्न समेत पछाडि नहट्ने चेतावनी दिएका छन् ।
त्यस्तै हस्ताक्षर अभियान पार्टीका सचिवालय सदस्य, स्थायी कमिटी सदस्य र मन्त्री बाहेकका संघीय संसदमा रहेका सांसदहरुको अभियान रहेको पनि सांसदहरुले स्पष्ट पारेका छन् । कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि पार्टीको ध्यान जानुपर्नेमा सत्ता र पद एवं व्यक्तिगत इच्छाका लागि लडाई गरेको भन्दै सांसदहरुले असन्तुष्टि जनाएका छन् । नेतृत्वले पार्टी निर्माण एकीकरणका लागि गरेको योगदानलाई सम्मान गर्ने तर व्यक्तिगत इच्छाका लागि गरेको संघर्षमा साथ नदिने पनि सांसदहरुले स्पष्ट पारेका छन् ।





























प्रतिक्रिया