सरकार गठनबारे बालकाेटमा ओली-प्रचण्ड वार्तामा, रवि लामिछाने पनि सहभागी

सरकार गठनबारे बालकाेटमा ओली-प्रचण्ड वार्तामा, रवि लामिछाने पनि सहभागी

केन्द्रबिन्दु
0
Shares

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालकोट पुगेका छन् ।एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न उनी बालकोट पुगेका हुन् । 

आइतबार सत्ता गठबन्धनकाे बैठकमा सहमति नजुटेपछि अध्यक्ष प्रचण्ड वालुवाटारबाट बाहिरिएर बालकोटतिर लागेका थिए तर, बालकोटमा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने, जसपाका नेता अशोक राई र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन रहेकाे कारण उनी आफ्नै निवासस्थान खुमलटार माेडिएका थिए । पछि पुनः उनी ओलीलाई भेट्न बालकोट पुगेका हुन् । 

नयाँ सरकार गठनका लागि राष्ट्रपतिले दिएको समयसीमा सकिनै लाग्दा सत्ता सहकार्यबारे छलफल गर्न अध्यक्ष प्रचण्ड बालकोट पुगेका हुन् । 

हाल छलफलमा एमालेका अध्यक्ष ओलीसँगै एमाले नेताहरू विष्णु पौडेल, शंकर पोखरेल र विष्णु रिमाल सहभागी छन् ।  माओवादी केन्द्रका महासचिव देव गुरुङ पनि सहभागी छन् । उक्त छलफलमा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने र  जनता समाजवादी पार्टीका नेता अशोक राई समेत सहभागी रहेको बताइएको छ ।

सरकार गठनका लागि एमालेकाे ७८ सिट, माओवादीकाे ३२ सिट, राष्ट्रिय स्वतन्त्र पार्टीकाे २० सिट र राप्रपा १४ सिट गरी १४४ सिटकाे हुन्छ । यसकारण एमालेसँग मिलेर आजै सरकारकाे दावी गर्ने सम्भावना पनि छ ।

Logo