बागमती काँग्रेस संसदीय दलको नेतामा लामाको सम्भावना बढी

बागमती काँग्रेस संसदीय दलको नेतामा लामाको सम्भावना बढी

केन्द्रबिन्दु
0
Shares

बागमती प्रदेशमा नेपाली काँग्रेस संसदीय दलको निर्वाचन आज हुँदैछ । मतदान दिउँसो दुईदेखि तीन बजेका लागि निर्धारण गरिएको छ । संसदीय दलको नेतामा केन्द्रीय सदस्य बहादुर सिंह लामा र बागमती प्रदेश सभापति इन्द्र बानियाँ उम्मेदवार छन् । उनीहरू दुवै संस्थापन पक्षका हुन् । बानियाँ मकवानपुर २ (ख) र लामा नुवाकोट २ (ख) बाट निर्वाचित भएका हुन्। 

नेता बानियाँ बागमती प्रदेशसभामा कांग्रेसका निवर्तमान संसदीय दलका नेता पनि हुन् । २०७४ को प्रदेशसभा निर्वाचनमा मुख्यमन्त्री बन्न उनी प्रतिनिधिसभा छोडेर प्रदेश सभामा उम्मेदवार बनेर निर्वाचित भएका थिए। तत्कालीन नेकपाले बहुमत ल्याएर सरकार गठन गरेपछि उनी मुख्यमन्त्री बन्नबाट रोकिएका थिए। नेकपा एसका राजेन्द्र पाण्डे बागमतीको तेस्रो मुख्यमन्त्री बन्दा पनि बानियाँले बलियो दाबेदारी प्रस्तुत गरेका थिए। बाँकी रहेको आधा कार्यकाल मुख्यमन्त्री पाउने शर्तमा उनी पछाडि हटेका थिए। पाण्डेले पूरै कार्यकाल चलाएपछि उनी तेस्रो पटक पनि मुख्यमन्त्री बन्नबाट रोकिए।

यो पटक ‘कन्फर्म’ मुख्यमन्त्री बनाउने गरी बानियाँलाई पुनः प्रदेशमै रोकिएको चर्चा छ । नत्र उनी यो पटक प्रतिनिधिसभामा उम्मेदवार बन्न चाहन्थे । उनी प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाका विश्वास पात्र मध्येका नेतामा पर्छन् । तर पछिल्लो पटक उनको सम्वन्ध देउवासँग चिसिएको बानियाँ निकट नेताहरु नै बताउँछन्। देउवाबाट साथ नपाएका बानियाँलाई गगनलगायतका नेताको समर्थन छ । बानियाँसँग प्रदेशसभापतिमा हारेका नुवाकोटकै जगदिश्वरनरसिंह केसी भने बानियाँको लागि खटिएका छन् । गगनका ससुरा केसी बानियाँको लागि खटिएपछि बानियाँले गुट फेरेको विश्वास गरिएको छ ।

त्यस्तै कांग्रेस संसदीय दलको नेताका अर्का आकांक्षी हुन् बहादुर सिंह लामा । संसदीय दलको नेता लामा बन्ने प्रबल सम्भावना छ । सभापति शेरबहादुर देउवानिकट केही नेता लामालाई जिताउन हेटौँडा आएका छन् ।सभापति शेरबहादुर देउवाले सहमहामन्त्री महालक्ष्मी उपाध्याय डीना, प्रवक्ता डा. प्रकाशशरण महत, नेताहरू मोहनबहादुर बस्नेत, मोहन आचार्य, मदनकृष्ण श्रेष्ठ र डा शशांक कोइरालाले पार्टी केन्द्रीय सदस्य उर्मिला थापालाई खटाएको बताइएको छ । आर्थिक, सामाजिक, खेलकुद र पूर्वाधार विकासमा सकृय बहादुर सिंह लामा नुवाकोटको विकासको मुल फुटाउने नेताका रुपमा चिनिएका छन् ।बागमती प्रदेशको मुख्यमन्त्रीको सशक्त दावेदारका रुपमा लामालाई हेरिएको छ । मंसिर ४ मा चुनाव जितेपछि समुन्नत प्रदेश र समृद्ध नुवाकोट बनाउने अठोटका साथ लामा संसदीय दलको नेता बन्न कस्सिएका छन् ।

युवादेखि वृद्धसम्मका प्रिय नेता लामा २०४३ सालदेखि राजनीतिमा लागेर नुवाकोटको क्षेत्रीय तथा राष्ट्रिय राजनीतिमा सक्रिय प्रतिभावान नेता हुन् । कांग्रेसको वर्तमान केन्द्रीय सदस्य लामा नेपाली कांग्रेसभित्र इमान्दार र विकासप्रेमी नेताको रुपमा चिनिएका छन् ।लामाले जिल्लाको लागि महत्वपूर्ण योगदान दिएका छन् ।

माओवादीका चर्चित नेता स्व. पोष्टबहादुर बोगटीलाई दोस्रो संविधानसभा निर्वाचनमा भारी मतले हराएर सभासद चुनिएसँगै उनले जिल्लाको लागि उल्लेखनीय काम गरेका छन् । नेपाली काँग्रेसका नेता तथा निर्माण ब्यावसायी लामा बिभिन्न संघ संस्थामा आवद्ध तथा खेलकुद क्रियाकलापमा पनि सक्रिय रहँदै आएका छन् ।

Logo