लोकतान्त्रिक समाजवादी पार्टी नेपालले वर्तमान सरकारलाई सहयोग गर्ने कि नगर्ने विषयमा अझै केही दिन कुर्ने भएको छ ।
सरकारलाई सहयोग गर्न एमाले र माओवादी केन्द्रका तेस्रो, चौथो तहका नेताहरुले प्रस्ताव लिएर गएपनि शीर्ष तहबाट कुनै सोधखोज गरिएको छैन । पार्टीका कार्यकारिणी सदस्य एवं प्रतिनिधि सभा सदस्य सर्वेन्द्रनाथ शुक्लाले विश्वासको मत दिने अघिल्लो दिन मात्र आफूहरुले त्यसको बारेमा निर्णय गर्ने बताए ।
हालसम्म प्रतिपक्षमा बस्ने कि सत्ता पक्षमा बस्ने निर्णयमा नपुगेका लोसपा सत्ता गठबन्धनको गतिविधिलाई नजिकबाट नियाली रहेको छ । नेता शुक्लाले भने, ‘अहिलेको वर्तमान सरकार र गठबन्धनले के गरिरहेका छन् त्यसलाई हामीले नजिकबाट नियाली रहेका छौं, आवश्यकता अनुसार हामीले निर्णय गर्छौ ।’ सत्ता पक्षबाट सरकारमा सामेल हुने विषयमा कुनै पनि प्रस्ताव नआएको बताउँदै उनले ती पार्टीका तेस्रो, चौथो तहका नेताहरुले प्रस्ताव गरेका छन् त्यो आधिकारीक जस्तो नदेखिएको बताए ।
आफूहरुले उठाएको माग मुद्दा र एजेण्डा कार्यान्वयन गर्ने प्रतिवद्धता आयो भने सरकारलाई समर्थन गर्ने विषयमा छलफल गर्न सकिने उनले बताए । नागरिकता विधेयक पारित हुन्छ कि हुँदैन भन्नेबारे अहिलेका सरकारले ठोस रुपमा नीति तथा कार्यक्रममै ल्याउनुपर्छ । मधेस आन्दोलनको क्रममा मुद्दा लागेका, थुनामा रहेकाहरुलाई रिहाय गर्ने कि नगर्ने विषय पनि सरकारले आफ्नो नीति तथा कार्यक्रममै ल्याउनुपर्ने नेता शुक्लाको माग छ ।































प्रतिक्रिया