नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सरकारमा आफ्नो पार्टीको सहभागिताबारे निर्णय लिन हतार नगर्ने बताएका छन् ।
पुस २६ गते सरकारले विश्वासको मत लिने भएकाले त्यसअघि सरकारमा आफ्नो पार्टीको सहभागिताबारे निर्णय लिन हतार नगर्ने उनको स्पष्टिकरण थियो । पार्टीको भातृ संगठन युवा संघ, नेपाल काठमाडौं जिल्ला कमिटीले बुधबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले राजनीतिक पिक्चर नै क्लिएर नभएकाले पनि आफ्नो पार्टीको पोलिटव्यूरो बैठकले पनि सो सम्बन्धमा निर्णय नलिएको स्पष्ट पारे ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अनुहार हेरेर भन्दा पनि सरकारको नीति तथा कार्यक्रमलाई हेरेर, त्यहाँ रहेका राजनीतिक दलहरुको गतिविधिलाई हेरर पुस २६ गते नै सो निर्णय गर्न आफूहरु तयार रहेको अध्यक्ष नेपालको भनाई थियो । त्यस अवसरमा उनले सरकारमा जाने बेलामा आफूहरुसँग प्रधानमन्त्रीले छलफल नगरेको भन्दै गुनासो समेत दोहो-याए ।
अध्यक्ष नेपालले आफ्नो पार्टी सत्तामा जानका लागि मरिहत्ते गर्ने पक्षमा नरहेको पनि बताए । उनले पार्टीका सांसदहरुलाई दलको ह्वीप लाग्ने भन्दै सचेत गराए । सरकारलाई विश्वासको मत दिने समय आईरहेका बेला अध्यक्ष नेपालले पार्टीका सांसदहरुलाई दलको ह्वीप लाग्नेतर्फ सचेत गराएका हुन् ।
अध्यक्ष नेपालले राष्ट्रिय मान्यता नपाएका दलले पनि पार्टीका सांसदहरुलाई ह्वीप लगाउन पाउने कानुनी र संवैधानिक व्यवस्था रहेको जिकीर समेत गरे । राष्ट्रिय मान्यता नपाएका राजनीतिक दलका सांसदहरुलाई ह्वीप लाग्दैन भन्ने भ्रम कसैले पनि नछरे हुने उनको भनाई थियो ।
अध्यक्ष नेपालले आफ्नो दलले राष्ट्रिय मान्यता प्राप्त गरेन भनेर नआत्तिन पनि पार्टीका नेता, कार्यकर्तालाई आग्रह गरे ।





























प्रतिक्रिया