गठबन्धन सरकारले मन्त्रालय फुटाउने कुनै तयारी नभएको बताएको छ ।
बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्ता साझेदार दलहरूको शीर्ष नेताहरूको बैठकपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले दलीय भागवण्डा मिलाउन मन्त्रालय फुटाउनेबारे कुनै छलफल नभएको उल्लेख गर्दै त्यसबारे कुनै सोच नभएको प्रष्ट पारेका हुन् ।
राजस्वले चालु खर्च पनि धान्न नसक्ने अवस्थामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दलीय भागवण्डा मिलाउन अहिले रहेका २२ मन्त्रालयलाई बढाएर २५ पुर्याउने तयारी गरेको भन्दै बाहिरिएपछि आलोचना भएको थियो । सो आलोचनाका बीच गठबन्धन सरकारको प्रष्टिकरण आएको हो ।
साथै बैठकले भ्रष्टाचार नियन्त्रण, सेवा प्रवाहलाई चुस्त बनाउने विषयलाई प्राथमिकता दिएर न्यूनतम साझा कार्यक्रमको मस्यौदालाई भोलिसम्म अन्तिम रुप दिने र शुक्रबार सार्वजनिक गर्ने तयारी पनि गरेको छ । केन्द्र र प्रदेश सरकारको मन्त्रालय बाँडफाँटबारेसमेत छलफल भएको उप्रधान तथा गृहमन्त्री लामिछानेले जानकारी दिए ।
बैठकमा प्रधानमन्त्री एवं माओवादी केन्द्र अध्यक्ष प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टी सभापति तथा उप्रधान तथा गृहमन्त्री रवि लामिछाने, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र जसपा अध्यक्ष उपेन्द्र यादव सहभागी थिए ।





























प्रतिक्रिया