नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हीतराज पाण्डेले आफूहरुले सबै राजनीतिक दलहरुलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिन आग्रह गरेको बताएका छन् ।
शुक्रवार बसेको सर्वदलीय बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै सचेतक पाण्डेले यस्तो बताएका हुन् । उनले विश्वासको मत दिनेमा आफूहरु विश्वस्त रहेको बताए । सबै पार्टीसँग छलफल जारी रहेको र सबै पार्टीहरु सकारात्मक रहेकाले विश्वासको मत पाउनेमा विश्वस्त रहेको पनि उनले बताए ।
त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष ध्रुवबहादुर प्रधानले आधिकारिक रुपमा पार्टी अध्यक्ष राजेन्द्र लिङदेनलाई काँग्रेसले प्रधानमन्त्री बन्न आग्रह नगरेको बताए । उनले विभिन्न स्तरहरुबाट प्रधानमन्त्री बन्नका लागि प्रश्ताव आएपनि पार्टीबाट आधिकारिक रुपमा भने नआएको बताए । जनतालाई गरेको वाचा र एकछिनमै परिवर्तन गर्ने कुराले पार्टीको अस्तित्व गुम्ने भन्दै अहिलेकै सरकारलाई सहयोग गर्न पार्टी तयार रहेको उनले बताए ।
जनता समाजवादी पार्टीका सांसद प्रदीप यादवले प्रतिपक्ष दलका सभापति शेरबहादुर देउवालाई भेट्दैमा शंका गर्नु नपर्ने बताए । उनले जसपाले पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई विश्वासको मत दिनेमा विश्वस्त रहन आग्रह गरे ।
यता लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुरले भने सरकारमा सहभागी कुनै पार्टीहरुले पनि आफूलाई विश्वासको मत दिन आग्रह नगरेको बताए । विश्वासको मत अहिलेको सरकारलाई दिने वा नदिने भन्नेबारेमा कुनै निर्णय पार्टीमा भइ नसकेको पनि उनले बताए ।































प्रतिक्रिया