नेकपा (एमाले) का अध्यक्ष तथा उच्चस्तरिय राजनीतिक समितिका संयोजक केपी शर्मा ओलीले वर्तमान सरकार स्थिर र स्थायी रुपमा चल्ने बताएका छन् ।
सोमवार ‘सरकारको नीतिगत प्राथमिकता र न्युनतम कार्यक्रम’ सार्वजनिक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले वर्तमान सरकार स्थिरताको लागि बनाइएको बताएका हुन् । उनले यो सरकार स्थायी सरकार भएकाले प्रभावकारी रुपमा चल्ने बताए । सरकार ढलाउने खेल नहुने भन्दै सरकार ढल्छ कि भनेर नसोच्न सबैलाई उनले आग्रह गरे ।
आफूहरु सरकार बनाउने र गिराउने खेलमा नलाग्ने उनले स्पष्ट पारे।
अध्यक्ष ओलीले कर्मचारीहरुलाई वर्तमान सरकार स्थायी र स्थिर सरकार हो भन्ने ठानेर काम गर्न आग्रह पनि गरे । उनले सरकारलाई नेकपा (एमाले) ले सम्पूर्ण रुपमा साथ, सहयोग र समर्थन दिने स्पष्ट पारे ।
अध्यक्ष ओलीले सरकारलाई विश्वासको मत दिनका लागि संसदमा भएका सबै राजनीतिक दलहरुलाई आग्रह गरे । उनले सरकार निर्माणमा छिटोछिटो राजनीतिक खेल भएको भनिएको भन्दै आफूहरुले छिटोछिटो नभइ सुविचारित ढंगले सरकार निर्माण गरेको बताए । वर्तमान सरकार निर्माणका लागि पुस ४ गते पछिदेखि नै छलफल शुरुवात भएको भन्दै धरै छलफल पछि मात्रै यो सरकार बनाइएको उनले प्रष्ट पारे ।
अध्यक्ष ओलीले सरकारप्रति कुनै आशंकाको दृष्टि नराख्न अन्तर्राष्ट्रिय मुलुकहरुलाई आग्रह गरे । उनले सरकारले समस्यारहित छिमेक सम्बन्ध र वैदेशिक नीति सञ्चालन गर्ने बताए । आफूहरु कसैसँग शत्रुता नराखी मित्रता कायम गरेर अगाडि बढ्ने बताए । सरकारको वैदेशिक सम्बन्धलाई सुदृढ बनाउने नीति रहेको उनको भनाई छ ।
सरकारले विश्वासको मत लिएपछि मन्त्रिपरिषद्लाई पूर्णता दिने र नीतिगत प्राथमिकता र न्युनतम कार्यक्रम अनुसार काम गर्नेमा अध्यक्ष ओलीले विश्वास व्यक्त गरे ।





























प्रतिक्रिया