पृथ्वी जयन्तीका दिन सार्वजनिक बिदा दिने सरकारको निर्णयप्रति जनता समाजवादी पार्टीका अध्यक्ष उपन्द्र यादवले आपत्ति जनाएका छन् ।
उनले सरकारको यो निर्णयबाट २०६२–०६३को जनआन्दोलन र शहीदहरूको अपमान भएको बताएका छन् । राजतन्त्रात्मक निरंकुश पञ्चायती व्यवस्थाले स्थपित गरेको पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसलाई २०६२–०६३को जन आन्दोलनद्वारा खारेज गरिएको उल्लेख गर्दै पूर्वउपप्रधानमन्त्रीसमेत रहेका यादवले भनेका छन्, ‘एमाले–माओवादीको नेतृत्वमा रहेको पुष्पकमल दाहाल उर्फ ‘प्रचण्ड’को सरकारले यसलाई पुनर्स्थापित गर्नु जनआन्दोलनको मर्म र भावनाविपरीत कार्य हुनुका साथै शहीदहरूको अपमान गर्नु पनि हो ।’ यादवले सरकारको यो निर्णयले विविधतामा एकता हैन, एकतामा विभेद, असमानता र विविधता नै उत्पन्न गर्ने दाबी गरेका छन् ।
सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा २७ पुसमा सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । सत्ता साझेदार राष्ट्रिय प्रजातन्त्र पार्टीले २७ पुसमा सार्वजनिक बिदा दिनुपर्ने सर्त राखेको थियो ।





























प्रतिक्रिया