नेकपा एमालेका सांसद् देवराज घिमिरे प्रतिनिधिसभाले नयाँ सभामुखमा निर्वाचित भएका छन् । प्रतिनिधिसभामा मंगलबार भएको निर्वाचनमा नेपाली कांग्रेसकी ईश्वरी न्यौपानेलाई पराजित गर्दै घिमिरे प्रष्ट बहुमतसहित विजयी भएका हुन् ।
प्रतिनिधिसभामा बिहीबार उनलाई सभामुख निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा १६७ र विपक्षमा १०० मत परेको छ ।प्रतिनिधिसभाका २७५ सदस्यमध्ये आजको बैठकमा २६८ जना मतदानमा सहभागी भएका थिए । एक जना सांसद भने तटस्थ रहे ।पहिलो प्रस्तावमै घिमिरेको पक्षमा सभामुख निर्वाचित हुन आवश्यक न्यूनतम १ सय ३८ मत कटेकाले उनलाई ज्येष्ठ सदस्य पशुपति शमशेर राणाले निर्वाचित भएको घोषणासमेत गरेका छन् । त्यसपछि न्यौपानेलाई सभामुख बनाइयोस् भन्ने प्रस्तावमा मतविभाजन गरिएन ।
नवनिर्वाचित सभामुख घिमिरे यसअघि २०५६ सालमा राष्ट्रियसभाको सांसद भएका थिए । एमाले स्थायी कमिटीका सदस्य समेत रहेका उनी झापा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए ।
घिमिरेलाई सरकारमा रहेको एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा र जनमत पार्टीबाहेक जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति र स्वतन्त्र सांसदले मत दिएका छन् । घिमिरेको प्रस्तावकमा सुवासचन्द्र नेम्वाङ, समर्थकमा हितराज पाण्डे, राजेन्द्रप्रसाद लिङ्देन र रवि लामिछाने थिए भने न्यौपानेको प्रस्तावकमा विश्वप्रकाश शर्मा र समर्थकमा प्रकाश ज्वाला रहेका थिए ।





























प्रतिक्रिया