सभ्यता र संस्कृतिमा नेपाल विश्वमै वैभवशाली छ -प्रधानमन्त्री प्रचण्ड

सभ्यता र संस्कृतिमा नेपाल विश्वमै वैभवशाली छ -प्रधानमन्त्री प्रचण्ड

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सभ्यता र संस्कृतिमा नेपाल विश्वमै वैभवशाली भएको बताएका छन् ।  

२८५९ औँ साेनाम ल्होसारको अवसरमा काठमाडौंको टुंडिखेलमा आयोजित  समारोहलाई सम्बाेधन गर्दै प्रधानमन्त्रीले भने, ‘आजबाट सुरू भएको तामाङलगायत हिमाली, पहाडी आदिवासी जनजातिहरूको राष्ट्रिय ल्होछार पर्व –२८५९ ह्योई/तावर ल्हो (बिरालो वर्ष) को पावन अवसरमा देशविदेशमा रहनुहुने सम्पूर्ण ल्होछारप्रेमी दिदीबहिनी दाजुभाइहरू सबैलाई सुस्वास्थ्य, समृद्धि, प्रगति र समस्त मानव जगतको कल्याणको लागि हार्दिक शुभकामना व्यक्त गर्दछु।’

उनले नेपाल पूर्व, पश्चिम, उत्तर, दक्षिणका प्रमुख सभ्यताहरूको संगमस्थल भएकाे बताए । 'यहाँ १२५ जातजाति, १२३ भाषाभाषी र १० भन्दाबढी धर्म मान्ने समुदाय बसोबास गर्दछन्,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘यहाँ बसोबास गर्ने सबै जाति/जातजातिको आ—आफ्नो भिन्नभिन्न परम्परा, रीतिरिवाज र संस्कृतिहरू रहेका छन् । यी सबै संस्कृतिहरूको समग्रता र एकीकृत स्वरुप नै नेपालको राष्ट्रिय संस्कृति हो। यसरी हाम्रो देश बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक हुनु नै नेपाल र नेपालीको लागि गौरवको कुरा हो, यो हाम्रो राष्ट्रिय सम्पत्तिसमेत हो।’

उनले थपे, ‘नेपालको राष्ट्रिय संस्कृतिको एउटा कडी ल्होछार परम्परा र तामाङ संस्कृति हो। यो ल्होछार परम्परा विश्वकै सबैभन्दा पुरानो सांस्कृतिक परम्परा हो। मानव जातिले पशुपालन र कृषिको शुरुवात गरेदेखि नै प्रकृतिको स्वभाव र गतिको नियम पत्ता लगाउने प्रयत्न गरेको थियो । यो क्रममा चन्द्रमाको गतिको आधारमा समय गणना हुन थाल्यो। यही पद्धति अंगालेर तामाङ सभ्यताले सूर्य दक्षिणबाट उत्तरतिर फर्कने छेका अर्थात् चन्द्र पात्रोको माघ शुक्ल प्रतिपदाको दिनदेखि नयाँ वर्ष सुरू हुन्छ भन्ने मान्दछ। कृषिको थालनीसँगै विकास भएकोले यो पर्वलाई सोनाम (किसानहरूको) ल्होछार पनि भन्दछन्।’

प्रधानमन्त्री प्रचण्डले ल्हो को अर्थ साल, सम्वत्, वर्ष, उमेर र छारको अर्थ नयाँ अर्थात् ल्होछारको अर्थ नयाँ वर्ष रहेकाे र यो परम्परामा विभिन्न बाह्र वटा पशुपंछीको नामबाट १२ ल्होको नाम राखिएको बताए । उनले भने, 'बाह्र बर्षको चक्र बनाइन्छ । बाह्र ल्हो मध्ये प्रत्येक बर्ष एक–एकवटा ल्हो फेरिन्छ। ल्हा (बर्ष) सँग खाम (पाँच तत्व) हरू — आगो, पानी, माटो, फलाम, काठ, सँग जोडिएका हुन्छन्। यही ल्हो फेरिने दिनलाई तामाङ समुदायले ल्होछार पर्वको रुपमा मान्दै आएका छन्। तामाङहरुले मान्ने ल्होछार (नयाँ वर्ष) तामाङ मत्तजुश्री पात्रोको पहिलो महिनाको पहिलो दिन हो। हिजो ताक् ल्हो (बाघ बर्ष) लाई विदा गरियो। आजबाट ह्योई (खरायो बर्ष) ल्हो शुरु भयो। यसैले यो तामाङ सभ्यताले मानव र प्रकृतिको जीवनलाई बुझ्ने विज्ञान र दर्शन पनि हो। यसले तामाङ जातिको उद्गम, सभ्यता, सांस्कृतिक अस्तित्व र पहिचानलाई समेत प्रतिबिम्बित गर्दछ । तामाङ जीवन र संस्कृतिको यही ल्हो परम्परा र विश्वासबाट सञ्चालित हुँदै आएको छ भन्ने मैले बुझेको छु।’

नेपालमा मात्र नभएर चीन, मंगोलिया, जापान, कोरिया, भियतनाम, लाओस, थाइल्याण्ड, ताईवान, मलेसिया, सिंगापुर लगायतका मंगोल-चिनियाँ सभ्यता पुगेका संसारका सबै महादेश र देशहरूमा मनाइने जानकारी दिएका उनले कामको सिलसिलामा विश्वका विभिन्न मुलुकहरूमा रोजगारी वा अन्य कामको सिलसिलामा पुगेका नेपाली तामाङ संघ/संस्थाहरुले समेत ल्होछार पर्व धुमधामसँग मनाउँदै आएका बताए ।

 तामाङ जीवनमा ल्हो परम्पराको ज्यादै ठूलो महत्व छ। यो परम्पराले धार्मिक, सामाजिक, आर्थिक, साँस्कृतिक र स्वास्थ्य जीवनको क्षेत्रमा समेत विशेष महत्व राख्ने  प्रधानमन्त्री प्रचण्डकाे भनाइ छ ।  उनले भने, ‘ल्होछार पर्व केबल तामाङको मात्र पर्व होइन, यो राष्ट्रिय र अन्तर्राष्ट्रिय पर्व पनि हो। नेपालमा यस्ता ऐतिहासिक एबम् बैज्ञानिक महत्व बोकेको थुप्रै पर्व छन्। तर विगतको सामन्ती राज्यले एउटालाई काखा र अरुलाई पाखा गर्नाले नेपालका धेरै संस्कृतिहरु लोप भएर जादैँछन्। मानव सभ्यता मर्दैछ। अर्कातिर पाश्चात्य संस्कृतिले राष्ट्रिय संस्कृतिलाई विस्थापन गर्दैछ। यो परिप्रेक्ष्यमा राज्यले ती सबै राष्ट्रिय संस्कृतिको प्रवर्धन गर्नुपर्छ भन्ने मेरो मान्यता छ।’

Skip This
Skip This
Logo