राष्ट्रिय सभाका पूर्व सांसद एवं वरिष्ठ अधिवक्ता रामनारायण बिडारीले संविधानले विपक्षी दलको व्याख्या नगरेको बताएका छन् ।
शनिवार काठमाडौंमा भएको संसदीय अध्ययन तथा विकास संस्थापना अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ अधिवक्ता बिडारीले यस्तो बताएका हुन् । उनले विपक्षी दलले सरकारको समर्थन गर्नै हुँदैन भन्ने हिसावबाट बुझ्न नहुने बताए ।
उनले सरकारलाई सबै दलले समर्थन गर्नुलाई राजनीतिक दलहरुले विपक्षीरहित बनाउने उद्देश्यका साथ गरिएको व्याख्या भएको बताए । उनले संविधानले विपक्षी नेताको व्याख्या गरेको भएपनि विपक्षी दलको व्याख्या नगरेको बताए । नेपाली काँग्रेस सरकारलाई विश्वासको मत दिँदैमा विपक्षी दलबाट कट्टा हुन नरहेको उनले जिकिर गरे ।
गत पुस २६ गते प्रधानमन्त्री पुष्पकमल दाहाललाई संसदका अधिकांश दलहरुले विश्वासको मत दिएका थिए । नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चाले भने प्रधानमन्त्रीलाई विश्वासको मत दिएको थिएन । नेपाली काँग्रेसले समेत प्रधानमन्त्रीलाई विश्वासको मत दिएपछि संसदमा अहिलेसम्म पनि प्रमुख प्रतिपक्ष दल को हो भन्ने प्रश्न रहेको छ ।
वरिष्ठ अधिवक्ता बिडारीले नेपालको मिश्रित प्रणालीको चुनावलाई पूर्ण समानुपातिक वा पूर्ण प्रत्यक्ष बनाउनुपर्ने बारेमा छलफल गर्नुपर्ने आवश्यक्ता रहेको बताए ।





























प्रतिक्रिया