वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सभामुखको कार्यालय पनि हाइज्याक भएको बताएका छन् ।
शनिवार काठमाडौंमा भएको संसदीय अध्ययन तथा विकास संस्थापना अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ अधिवक्ता त्रिपाठीले यस्तो बताएका हुन् । उनले सरकारमा सहभागी हुनबाट रोक्न नेकपा एमालेले हतारमा सभामुखसँग मिलेमतो गरेर नेपाली काँग्रेसलाई प्रतिपक्ष दलको दर्जा दिन लगाइएको बताए ।
उनले नेकपा एमाले र सरकारले सभामुखसँग चाँडो भन्दा चाँडो काँग्रेसलाई प्रतिपक्षमा धकेल्न लगाइएको बताए । उनले संसदलाई राष्ट्रिय पञ्चायत जस्तो बनाइएको आरोप लगाए । संसदमा कुनैपनि प्रतिपक्ष नरहेको जिकिर गर्दै संसदलाई सत्तापक्ष नै बनाउनु भनेको संसदीय प्रणालीको मुल मर्म र आत्मामाथिको प्रहार भएको पनि उनले बताए ।
वरिष्ठ अधिवक्ता त्रिपाठीले अहिलेका पार्टीहरुसँग नेशन्स बिल्डिङ र ट्रान्सफरमेसनको कुनै एजेण्डा नभएको बताए । उनले पार्टीहरु सत्ता र पदको लागि अवसरको खोज्ने काममा नै लागिपरेको बताए । प्रधानमन्त्री पुष्पकमल दाहालको पछिल्लो भुमिकाले अवसर खोज्ने कुरामा मात्रै पार्टीहरु केन्द्रित भएको पुष्टि गरेको उनले बताए । उनले राजनीतिक पार्टीहरु एजेण्डा र विचारबिहीन भइसकेको बताउँदै पार्टीहरुलाई दासहरुको कुम्भ भेलाको संज्ञा दिए ।
वरिष्ठ अधिवक्ता त्रिपाठीले संविधानले एउटा सेरमोनियल राष्ट्रपतिको परिकल्पना गरेको र संविधानका विद्यार्थीले राष्ट्रपतिसँग कार्यकारी अधिकार नरहने भनेपनि पछिल्लो समय कार्यकारी अधिकार सिंहदरबारबाट सरेर शितलनिवास पुगेको बताए ।





























प्रतिक्रिया