प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सहिदको सपना पूरा गर्न सबैले हातेमालो गर्नुपर्ने बताएका छन्।
चुनौतीपूर्ण परिस्थितिमा गठन भएको नयाँ सरकार सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्यमा अघि बढ्न दृढ सङ्कल्पित उल्लेख गर्दै उनले सहिदका सपना पूरा गर्न आह्वान गरे। सहिद दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै उनले जीवनपर्यन्त आफ्नो सम्पूर्ण तागत देश र जनताको हितका खातिर समर्पित गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेका छन्।
प्रधानमन्त्री प्रचण्डले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न तथा नयाँ संविधानको कार्यान्वयनमार्फत देशलाई समृद्ध र समुन्नत बनाउन सहिदको सपना तथा योगदान सधैँ प्रेरणादायी हुने बताए। ‘तानाशाही र निरंकुश व्यवस्थाविरूद्ध संघर्षका क्रममा उच्च बलिदानी गर्नुहुने महान् सहिदको बलिदानी भएको दिनलाई हामीले सहिद दिवसका रूपमा स्मरण गर्दै आएका छौँ’, उनको सन्देशमा भनिएको छ, ‘आजको दिन नेपाल र नेपालीहरूको आत्मसम्मान र स्वतन्त्रताका लागि आफ्नो जीवन बलिदान गर्ने सहिदप्रति विशेष सम्मान व्यक्त गर्ने दिन हो।’
सहिदको बलिदानलाई उच्च सम्मान गर्दै उनीहरूको सपना साकार पार्ने कार्यमा सबै आ–आफ्नो ठाउँबाट निरन्तर प्रयत्नशील रहनु आवश्यक रहेको उनले बताएका छन्। प्रचण्डले चुनौतीपूर्ण परिस्थितिमा गठन भएको नयाँ सरकार सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्यमा अघि बढ्न दृढ संकल्पित रहेको दाबी गरेका छन्।































प्रतिक्रिया