‘परराष्ट्रका सूचना झ्याल र ढोकाबाट दिँदैनौँ, अब सबैलाई एकमुष्ठ’ -मन्त्री पौड्याल

‘परराष्ट्रका सूचना झ्याल र ढोकाबाट दिँदैनौँ, अब सबैलाई एकमुष्ठ’ -मन्त्री पौड्याल

केन्द्रबिन्दु
0
Shares

परराष्ट्रमन्त्री डा. विमला राई पौड्याल मन्त्री बनेपछि पहिलो विदेश भ्रमणका रुपमा श्रीलंका जाने भएकी छन् । बुधवार मन्त्रालयमा पत्रकार सम्मेलन गरी यसबारे जानकारी गराइएको हो । 

मन्त्री पौड्याल बिहीवार श्रीलंकातर्फ प्रस्थान गर्नेछिन् । उनले श्रीलंका भ्रमणमा राजनीतिक भेटघाट र राजनीतिक महत्वका अवसरहरुमा सहभागी हुने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ । 

पत्रकार सम्मेलनमा बोल्दै परराष्ट्रमन्त्री पौड्यालले मन्त्रालयका सूचनालाई झ्याल र ढोकाबाट नभइ सबैलाई एकमुष्ठ रुपमा दिइने बताइन् । उनले सबै सञ्चारकर्मीहरुलाई ह्वाट्सएप वा इमेल ग्रुपबाट सूचना दिने प्रतिवद्धता जनाइन् । श्रीलंका भ्रमणका क्रममा सार्कको बारेमा पनि साइडलाइन कुराकानी सम्भव भएसम्म गर्ने बताइन् ।

मन्त्री पौड्यालले आफूले पछिल्लो समय पोर्चुगलमा रहेका नेपालीहरुलाई पासपोर्टको समस्या परेकाले उनीहरुको समस्या समाधानका लागि तत्काल मोबाइल टिम पठाउने तयारी गरेको बताइन् । उनले परराष्ट्र नीतिका बारेमा पनि एकपटक विज्ञहरुसँग बसेर छलफल गर्ने कार्यक्रम बनाइरहेको बताइन् । 

शुक्रवार मन्त्री पौड्यालले आफ्ना श्रीलंकाका समकक्षीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको र त्यही दिन स्वागत लञ्चको कार्यक्रम राखिएको मन्त्रालयले जनाएको छ । सोही दिन मन्त्री पौड्यालले श्रीलंकाका प्रधानमन्त्री दिनेश गुणवद्र्धनेसँग भेटघाट गर्ने कार्यक्रम छ । बेलायती उपनिवेशबाट स्वतन्त्र भएको ७५औं वर्षगाँठका अवसरमा श्रीलंका सरकारले आयोजना गर्ने विशेष समारोहमा सहभागी भइसकेपछि त्यसै दिन मन्त्री पौड्यालले श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिंघेसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।  

Skip This
Skip This
Logo