नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रपति हुन पाउँछु भनेर सबै दंग परेको बताएका छन् ।
शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् । उनले नेकपा एमालेप्रति इंगित गर्दै एमालेले पार्टीका धेरै व्यक्तिलाई राष्ट्रपति बनाइदिने आश्वासन दिएकाले एमालेका नेताहरु राष्ट्रपति बन्न पाउँछु भनेर दंग परेको दाबी गरे ।
उनले नेकपा एमालेले अन्तिममा आश्वासन दिएका व्यक्तिलाई सेन्टीफ्ल्याट खुवाउने बताए ।
‘अहिले सबैतिर राष्ट्रपति पदको चर्चा छ । प्रत्येक व्यक्तिहरु म राष्ट्रपति हुने हो भनेर दंग परेका छन् । किनभने दंग पारिएको छ । सबैलाई राष्ट्रपति पद दिइएको छ । भइहालेँ भन्ने परिरहेको छ । को को सेन्टीफ्ल्याट खाने हो थाहा छैन ।’ उनले भने, ‘नेपालको राजनीति यही ढंगले अघि बढीरहेको छ । मैले संकेत मात्रै गरेको हो । हामी पनि राष्ट्रिय राजनीतिमा छौँ, हाम्रो पनि भुमिका छ । के मूल्य छ, यिनीहरुको भन्नेहरु भन्दै गरुन्, हण्डर, ठक्कर खाएपछि चेत खुल्छ, हामी पोजेटिभ भूमिका खेल्छौँ ।’
अध्यक्ष नेपालले देशको राष्ट्रिय परिस्थिति दुषित रहेको बताए । उनले आफ्नो पार्टी केही होइन भन्नेहरुलाई सुदूरपश्चिम प्रदेशमा अहिले आएर देखाइदिएको समेत बताए । आफ्नो पार्टीको भविष्य खत्तम छ भन्नेहरुलाई (एकीकृत समाजवादी) पार्टी सुदूरपश्चिमबाट सरकारमा उदाएर देखाएको उनले बताए ।
उनले आफ्नो पार्टीले सुदूरपश्चिममा सरकारमा रहनु नै एमालेको लागि धक्का भएकाेसमेत दाबी गरे ।































प्रतिक्रिया