‘प्रधानमन्त्रीमा अन्तर्निहित ‘म नै संविधान हुँ’ भन्ने दम्भ उजागर भयो’ : कांग्रेस नेता सिंह

‘प्रधानमन्त्रीमा अन्तर्निहित ‘म नै संविधान हुँ’ भन्ने दम्भ उजागर भयो’ : कांग्रेस नेता सिंह

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकारले संवैधानिक आयोगहरुमा गरेको नियुक्तिलाई अर्को असंवैधानिक कदम भएको बताएका छन् । आज एक विज्ञप्ति जारी गर्दै उनले यस्तो बताएका हुन् ।

आज बिहान शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न संवैधानिक आयोगका पदाधिकारी र सदस्यहरुको शपथग्रहण गराएकी थिइन् । यस लगत्तै सिंहले आयोगमा गरिएको सिफारिस नै असंवैधानिक भएको भन्दै सो सिफारिस कार्यान्वयन गर्नु अर्को असंवैधानिक कार्य भएको बताएका हुन् ।

उनले भनेका छन् , ‘संसदीय सुनुवाइ समिति नै नभएका बेला संविधानको खिल्ली उडाउँदै गरिएको नियुक्तिले प्रधानमन्त्रीमा अन्तरनिहित ‘म नै संविधान हुँ’ भन्ने दम्भ उजागर भएको छ ।’

विज्ञप्ति यस्तो छ :

असंवैधानिक रूपमा संवैधानिक आयाेगहरूमा गरिएकाे नियुक्तिप्रति गम्भीर ध्यानाकर्षण भएकाे छ । संसदीय सुनुवाइ समिति नै नभएका बेला संविधानकाे खिल्ली उडाउँदै गरिएकाे नियुक्तिले प्रधानमन्त्रीमा अन्तरनिहित `म नै संविधान हूँ´ भन्ने दम्भ उजागर भएकाे छ । संवैधानिक परिषदकाे अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री केपी ओलीसहितकाे (काेरम नपुगेकाे) बैठकले गरेकाे सिफारिस नै असंवैधानिक थियाे । त्यसैले आज गराइएकाे सपथ असंवैधानिक सिफारिसलाई मान्यता दिनका लागि गरिएकाे अर्काे असंवैधानिक कदम हाे ।

संविधानलाई मिचेर अघि बढ्ने सरकारकाे अधिनायकवादी आकांक्षाकाे जति निन्दा गरे पनि कम हुन्छ । ७ दशक लामाे संघर्ष र ठूलाे बलिदानीबाट प्राप्त उपलब्धिका रूपमा रहेकाे संविधान सरकार र सरकारमा रहनेहरूकाे असंवैधानिक कार्य र मनपरितन्त्रका कारण संकटमा परेकाे छ । अब पनि सचेत नहुने हाे भने देश गम्भीर संवैधानिक र राजनीतिक दुर्घटनामा पर्ने निश्चित छ ।

सरकारले संविधान मिचेर गरिरहेकाे असंवैधानिक सफारिस, नियुक्ति, विचाैलियाहरूलाई नियम मिचेर दिइएका ठेक्कापट्टा र राज्यस्राेतकाे दाेहनले सीमा नाघिसकेकाे छ । अनावश्यक नियुक्ति र राज्यस्राेतकाे दुरूपयाेग गर्दै ज्ञानेन्द्र शैलीमा गरिएका सभासम्मेलन देशलाई अस्थिरतातर्फ धकेल्न उद्दत देखिन्छ । संविधानकाे रक्षा गर्न र राज्यकाे ढुकुटीमाथिकाे ब्रह्मलुट राेक्नमा लागि सबैलाई सचेत र जागरुक रहन अपिल गर्न चाहन्छु ।
जय नेपाल
प्रकाशमान सिंह

आज बिहान शितल निवासमा आयोजित एक कार्यक्रममा राष्ट्रपतिले नवनियुक्त पदाधिकारीहरुलाई सपथ गराएकी हुन् । मंसिर ३० गते बसेको संवैधानिक परिषद्को बैठकले विभिन्न संवैधानिक निकायका रिक्त पदाधिकारी नियुक्तिको लागि सिफारिस गरेको थियो ।

यसैबीच उपराष्ट्रपति नन्दबहादुर पुन र सभामुख अग्नीप्रसाद सापकोटाले भने संवैधानिक आयोगका प्रमुख र सदस्यहरुको शपथग्रहण कार्यक्रम बहिष्कार गरेका छन् ।

Logo