प्रधानमन्त्री केपी शर्मा ओली संकटमा परेपछि त्यस संकटबाट जोगाउने रक्षाकवचको रुपमा उपाध्यक्ष बामदेव गौतम फेरि उदाएका छन् । केही अघि सम्म प्रधानमन्त्री ओलीको राजीनामा माग्ने नेताहरुको पंक्तिमा उभिएका गौतमले मंगलबार पार्टीमा सहमतिका लागि ६ बुंदे प्रस्ताव अघि सारेपछि ओलीले त्यसलाई आफ्नो संकटमोचन हुने ‘बुटी’ ठानेका छन् ।
गौतमको ६ बुंदे प्रस्तावको एउटा मुख्य बुँदामा ओलीले नै पांच बर्षसम्म सरकार चलाउन पाउनुपर्ने कुरा उल्लेख छ । तत्काल राजीनामा दिनुपर्छ भन्दै स्थायी कमिटिका बहुमत नेताहरुले अप्ठेरो पारिहेका बेला गौतमबाट आएको यो प्रस्ताव ओलीका लागि औषधिसरह भएको छ ।
त्यसैले ओली मंगलबार राति गौतम निवास पुगे । त्यहाँ पारिवारिक जमघट गरे र भेटघाटका तस्वीरहरु बाहिर सार्वजनिक गरेर आफूविरुद्ध गठबन्धन गर्ने अन्य नेताहरुलाई मनोबैज्ञानिक रुपमा सन्देश दिन खोजे । यसअघि पनि संकट पर्दा ओली गौतम निवास जाने गर्थे । तर पछिल्लो पटक बालुवाटार बाहेक अन्यत्र धेरै ननिस्किएका ओली श्रीमतीसहित मंगलबार सांझ गौतम निवास पुगे ।
ओलीलाई संकटमा पर्दा गौतमले जोगाउन खोजेको यो पहिलो घटना भने होइन । झण्डै ६ बर्षदेखिको इतिहास मात्र हेर्ने हो भने पनि गौतम हरेक संकटमा ओलीको पक्ष लिएका छन् र ओलीलाई पदमा पुर्याउने भूमिका पनि गौतमले खेलेका छन् ।
ओलीका लागि यस्तो काम गर्दा गर्दै पनि उनी अर्का अध्यक्ष पुष्पकमल दाहालसंग पनि उत्तिकै निकट सम्बन्ध राख्छन् । गौतमले ओलीका लागि यसअघि के के गरे ? यसको केही श्रृंखलाबद्ध घटनाहरु छन् । जसका लागि २०७० सालपछिका घटनाक्रम हेर्न सकिन्छ ।
०७० सालको चुनावपछि तत्कालीन एमाले दोस्रो शक्तिको रुपमा उदायो । २०६४ सालको चुनावमा निकै पछि परेको एमालेले २०७० सालमा विगतमा आफ्नो हैसियत फिर्ता ल्यायो । दोस्रो संविधान सभाको त्यो कार्यकाल सुरु हुँदा तत्कालीन एमालेका अध्यक्ष झलनाथ खनाल थिए । चुनावपछि संसदीय दलको नेता खनाल नै बन्न चाहे । तर, केपी शर्मा ओलीले पनि उक्त पदमा आउने आकांक्षा राखे । पार्टी भित्र निकै विवाद भयो ।

यो विवादका क्रममा पार्टी अध्यक्ष खनाललाई छोडेर नेता गौतमले ओलीलाई साथ दिए । त्यसबेला ओलीले गौतमलाई संसदीय दलमा सहयोग गरे पार्टीको महाधिवेशनपछि संसदीय दलको नेता बन्न गौतमलाई सघाउने बचन दिएका थिए । त्यही बचनमा विश्वास गरेर ओलीलाई गौतमले संसदीय दलको चुनावमा सघाए । जबकी गौतम नउभिएका भए ओलीलाई संसदीय दलका निर्वाचित हुन समस्या हुन्थ्यो । ओलीका अहिलेका शक्ति आर्जन गर्ने पहिलो ढोका खुल्ला गर्न सहयोगी बन्ने गौतम थिए । त्यो बेला माधव नेपालले खनाललाई सघाएका थिए ।
त्यसपछि सहयोग गौतमले २०७१ सालमा गरे । संसदीय दलको नेता निर्वाचित भएपछि तत्कालीन एमालेको नवौ महाधिवेशन आयो । महाधिवेशनका बेला ओली करिब सिकिस्त विरामी थिए । तर पनि उनी अध्यक्ष उठ्ने योजनामा लागे । ओलीको अध्यक्ष बन्ने योजनामा सबै भन्दा सहयोग गर्नेमा गौतम नै उभिए । ‘सबै नेताहरुले अवसर पाइसके अब एकपटक ओलीलाई अवसर दिऔ’ भन्दै गौतमले ओलीलाई महाधिवेशनमा अध्यक्ष बन्नका लागि सहयोग गरे । गौतमको सहयोग हुने थिएन भने ओली अध्यक्षमा जित्न सम्भव थिएन । किनभने नेपालसँग ओलीले झिनो मत अन्तरमा मात्र पार्टी अध्यक्ष जितेका हुन् ।
महाधिवेशनबाट अध्यक्ष निर्वाचित भएपछि ओलीले संसदीय दलको नेता छोडेर आफूलाई बनाउन सक्ने गौतमले ठानेका थिए । तर ओलीले वास्ता गरेनन् । त्यसपछि उनी ओलीसंग टाढिए । २०७४ को चुनावमा गौतमले हारेपछि कुनै बेला प्रधानमन्त्री बन्न सक्छु भन्ने गौतमको चाहना अवरुद्ध भयो । त्यसपछि उनले ओलीसँग विकास निर्माण सम्बन्ध काम गर्ने भूमिका मागे । ओलीले दिएनन् । त्यही कारण बामदेव गौतम पुष्पकमल दाहालसंग बढ्ता नजिकिएर काम गर्न थाले । यो बीचमा सांसद बनेर प्रतिनिधि सभामा छिर्ने सम्मको योजना पनि बनाए । तर यो योजना सफल भएन । उपचुनावबाट संसदमा आउन गौतमलाई कतैबाट पनि सम्भव भएन । त्यसैले उनी ओलीसँग रुष्ट नै थिए ।
तर, ओलीको कार्यशैलीमाथि गत बर्षदेखि नै निकै आलोचना बढ्न थाल्यो । दाहाल र नेपाल लगायतका नेताहरुबाट ओलीमाथि घेराबन्दी सुरु भयो । सचिवालयमा ओली अल्पमत परे । त्यही बेलामा गत बर्ष साउनतिर ओली र गौतमबीच फेरि कुराकानी भयो । पार्टीभित्रको संकट बढेका बेला गौतम ओलीको लाईनमा उभिए । जसका कारण ओलीमाथि त्यसबेला आउनका लागेको संकट पनि टरेको थियो । त्यो बेला ओली नै गौतमलाई पार्टीको उपाध्यक्ष बनाउने प्रस्ताव गरे । जुन प्रस्तावपछि केन्द्रीय कमिटिबाट अनुमोदन भयो र गौतम अहिले उपाध्यक्ष छन् ।
त्यस्तै अर्को मोड गत पुस आयो । ओलीमाथि अन्य नेताहरुको घेराबन्दी व्यापक भयो । यो घेराबन्दीका कारण ओलीलाई पदबाटै राजीनामा गर्न अध्यक्ष प्रचण्डले भनेका थिए । प्रधानमन्त्रीको राजीनामा नै माग्ने घटना भएपछि यो बेला पनि केही दिन अघि सम्म दाहालको पक्षमा देखिएका गौतम ओलीको पक्षमा लागे । यो बेला ओलीले गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव गरेका थिए । आफ्नो संकटका बेलामा गौतमलाई लिएर अघि बढ्ने पुरानै शैली अनुसार यसपटक पार्टीको अबको प्रधानमन्त्री गौतम भने । गौतम पनि ओलीको यो भनाईबाट सुखी भए । गौतमले ओलीको पक्ष लिएपछि ओलीको संकट त्यसबेला पनि मोचन भयो ।
त्यसपछि ओलीलाई सबै भन्दा बढी संकट परेको अहिले हो । अहिले झण्डै दुई महिनादेखि ओलीले राजीनामा दिनैपर्ने माग भएको छ । स्थायी कमिटिको एक महिनादेखि बैठक जारी छ । बहुमत नेताहरु ओलीको विपक्षमा उभिएका छन् ।
ओलीविरुद्धको गठबन्धनमा गौतम पनि सामेल भइरहेका थिए । अकस्मात मंंगलबार गौतम ओलीको रक्षाकवचको रुपमा निस्किए । उनले ६ बुंदे प्रस्ताव दुबै अध्यक्षलाई पेश गरे । दाहाल र नेपाल समूहले गरेको स्थायी कमिटि बैठकमा गएर विवाद गरे जानु भन्दा मिलेर जानुपर्ने र त्यसमा ओलीलाई नै ५ बर्ष सरकार र दाहाल महाधिवेशनसम्म अध्यक्ष चलाउन दिने प्रस्ताव गरे ।
यो प्रस्ताव ओलीका लागि ‘बगरमा छट्पटाएको माछाले पानी भेटेसरह’ भयो । गौतमको यही प्रस्तावका कारण ओलीविरुद्धको गठबन्धन पनि केही रक्षात्मक हुने स्थिति देखा परेको छ । त्यसैले विभिन्न समयमा गौतमले ओलीलाई शक्ति र सक्षामा पुग्ने भर्याङ् र संकटमा रक्षाकवचको रुपमा काम गरेका छन् ।































प्रतिक्रिया