अधिकांश क्याम्पसमा स्ववियु नेतृत्वका लागि मतदान जारी, सुरक्षा व्यवस्था कडा

अधिकांश क्याम्पसमा स्ववियु नेतृत्वका लागि मतदान जारी, सुरक्षा व्यवस्था कडा

केन्द्रबिन्दु
0
Shares

त्रिभुवन विश्वविद्यालयसहित आङ्गिक र सम्बन्धनप्राप्त क्याम्पसहरूमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) नेतृत्वका लागि मतदान जारी छ । 

आईतवार बिहान ८ बजेबाट नै काठमाडौं उपत्यकासहित देशका अन्य सम्बन्धन प्राप्त क्याम्पसहरुमा मतदान शुरु भएको हो । स्ववियु निर्वाचन १४ वर्षपछि भएको हो । ६० आङ्गिक र १ हजार ४० सम्बन्धनप्राप्त क्याम्पसमध्ये अधिकांशमा आज स्ववियु नेतृत्वका लागि मतदान हुँदैछ । 

काठमाडौंको रत्नराज्य क्याम्पससहितका देशका अन्य केही क्याम्पसहरुमा भने आन्तरिक विवादका कारण मतदान हुन सकेको छैन । 

काठमाडौंका त्रिभुवन विश्वविद्यालय कीर्तिपुर, थापाथली क्याम्पस, शंकरदेव क्याम्पस, ल क्याम्पस, विश्वभाषा क्याम्पस, वाल्मीकि क्याम्पसहरुमा मतदान शुरु भएको छ । बिहान ८ देखि सुरु भएको मतदान दिउँसो ४ बजेसम्म जारी रहनेछ । 

प्रत्येक दुई–दुई वर्षमा हुने स्ववियु निर्वाचन वि.सं. २०६५ देखि नियमित हुन सकेको थिएन । यस पटक भने निर्वाचनका लागि अधिकांश क्याम्पसहरुमा मतदान नै शुरु भइसकेको हो । अध्यक्ष, सचिव र कोषाध्यक्ष तथा ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन प्रणाली र उपाध्यक्ष, सहसचिव र ५० प्रतिशत सदस्य समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुनेछन् । 

सरकारले विश्वविद्यालयमा अध्ययरत विद्यार्थी र तिनले आन्दोलनमार्फत गरेका सहमति कार्यन्वयन गर्न, क्याम्पस तथा विश्वविद्यालयको नीति निर्माण र कार्यन्वयनमा विद्यार्थी प्रतिनिधित्व सुनिश्चित गर्न, क्याम्पसमा शैक्षिक वातावरण कायम गर्न र विद्यार्थीको चौतर्फी विकासका लागि स्ववियु निर्वाचन गर्दै आइरहेको छ । 

विद्यार्थीहरु स्ववियुको नेतृत्व चयनका लागि बिहानैदेखि क्याम्पस परिसरमा लामवद्ध भएको देख्न सकिन्छ । स्ववियु निर्वाचनलाई मध्यनजर गरी निर्वाचन हुने क्याम्पसहरुमा सुरक्षा व्यवस्था पनि कडा बनाइएको छ । 

Logo