प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेवार जातिको अध्ययन तथा अनुसन्धानका लागि प्रतिष्ठान गठन गर्ने घोषणा गरेका छन् ।
नेपालको सभ्यता, संस्कृति, इतिहास, भाषा, कला र साहित्यका निम्ति नेवारहरुले गरेको अनवरत संघर्षको उच्च सम्मान गर्दै आफूले सो जातिको अध्ययन/अनुसन्धानका लागि प्रतिष्ठान गठन गर्ने तयारी गरेको उनको भनाई थियो । विश्व नेवार दिवसको अवसर पारेर शनिबार काठमाडौंको बसन्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले नेवार समूदायका लागि खोलिने सो प्रतिष्ठान सिंगो नेपालकै लागि हुने पनि स्पष्ट पारे ।
“शान्ति प्रक्रियामा आएपछिको पहिलो कार्यक्रम यही वसन्तपुर डबली भएको थियो । पहिलो चोटी प्रधानमन्त्री भएपछि नेपाल संवत्लाई राष्ट्रिय संवत्को मान्यता दिलाउनका लागि मैले पहल गरेको हुँ”, उनले भने, “नेपाल सरकारका तर्फबाट नेपाल संवत्लाई राष्ट्रिय संवत् घोषणा गरेको यही डबलीबाट हो ।”
उनले नेपाल संवतलाई राष्ट्रिय संवतको मान्यता दिलाउने काम पनि आफू पहिलो पटक प्रधानमन्त्री भएको बेला गरेको स्मरण गराए ।
प्रधानमन्त्री प्रचण्डले नेवार समूदाय विश्वमै नगर सभ्यता सुरु गर्ने अग्रज समुदाय भित्र पर्ने उल्लेख गर्दै त्यो नेपाल र नेपालीका लागि गर्वको विषय भएको बताए । उनले उत्पीडित जाति र समूदायको उत्थानका लागि संविधान संशोधन गर्दै अघि बढनुपर्ने पनि दोहो-याए ।





























प्रतिक्रिया