नेकपा विवाद थप पेचिलो बन्दै, ओलीकाे प्रतिकार गर्न प्रचण्ड पक्ष तम्तयार

नेकपा विवाद थप पेचिलो बन्दै, ओलीकाे प्रतिकार गर्न प्रचण्ड पक्ष तम्तयार

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विवाद थप पेचिलो बन्दै गएको छ । सोमबार कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा बसेको बैठकले ओलीले स्थायी कमिटीको बैठक स्थगित गर्ने प्रस्ताव गरे अस्वीकार गर्ने निष्कर्ष निकालेसँगै नेकपा विवाद थप पेचिलो बन्दै गएको हो ।

खुमलटार बैठकमा अध्यक्ष दाहाल, वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल र पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ सहभागि थिए । स्रोतका अनुसार प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली सहमतिका लागि तयार नभए वा भोलिको स्थायी कमिटीको बैठक स्थगित गर्ने पक्षमा देखिए सो प्रस्तावलाई अस्वीकार गर्ने निष्कर्ष खुमलटार बैठकले निकालेको छ । नेकपाको स्थायी कमिटीको बैठक गत असार १० देखि जारी छ । स्थायी कमिटीको बैठक जारी रहेको समयमा प्रधानमन्त्री ओलीले आफूले नेपालको राजनीतिक तथा प्रशासनिक नक्सा जारी गरेकाले भारतीय राज्य संयन्त्र आफूलाई हटाउन चलखेल सुरु गरेको अभिव्यक्ति दिएका थिए । साथै, भारतीय राज्य संयन्त्रलाई नेकपाभित्रैबाट सहयोग रहेको ओलीको भनाइ थियो । प्रधानमन्त्री ओलीको उक्त अभिव्यक्तिलाई लिएर पार्टीभित्र उनको प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट राजीनामा माग गरिएको थियो ।

कूल ४४ जना रहेको स्थायी कमिटीमा ३० भन्दा बढी सदस्यले ओलीले तत्काल दुवै पदबाट राजीनामा दिनुपर्ने अडान लिएका थिए । तर ओलीले कुनै पनि हालतमा दुवै पदबाट राजीनामा नदिने अडान कस्दै आएका छन् । आफूलाई दुवै पदबाट हटाउन आगामी निर्वाचन र महाधिवेशन कुर्नु पर्ने उनको तर्क छ । अंकगणितका आधारमा आफूलाई हटाउन खोजे पार्टी फुटाउने ओलीको चेतावनी छ । दुवै पक्ष आ–आफ्नै अडानमा कायमै रहँदा पार्टी फुटको अवस्थामा जान सक्ने आँकलन गरिएको थियो । पार्टीको आन्तरिक कलह बढ्दै गएपछि प्रधानमन्त्री ओलीकै आग्रहमा पटक पटक स्थायी कमिटीको बैठक स्थगित हुँदै आएको छ ।

गत असार १० देखि जारी बैठक अहिलेसम्म आठ पटक स्थगित भइसकेको छ । पछिल्लो पटक साउन ९ गते ओली र प्रचण्डबीच करिब पौने घण्टा छलफल भएको थियो । तर छलफलमा कुनै ठोस नतिजा भने हात लाग्न सकेको थिएन् । स्थायी कमिटीको बैठक (भोलि) मंगलबार बस्दै छ ।

Logo