यी हुन् हालसम्म टुंगिएका मन्त्रालय, कुन दलबाट को बन्दैछन् मन्त्री ?

यी हुन् हालसम्म टुंगिएका मन्त्रालय, कुन दलबाट को बन्दैछन् मन्त्री ?

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड मन्त्रीमण्डल विस्तारपछि आजै शपथ गराउने तयारीमा छन् । राष्ट्रपति कार्यालयले दिउँसो ३ बजेका लागि मन्त्रीहरुको सपथ कार्यक्रम तय भएको जनाउँदा उनले पनि मन्त्रीहरुको अधिकांश सूची टुंग्याएका छन् । 

हालसम्म कांग्रेसको सिफारिसमा चार सांसद मन्त्री बन्ने भएका छन् । पूर्णबहादुर खड्का उपप्रधान तथा रक्षा मन्त्री बन्दा डा. प्रकाशशरण महत अर्थ, रमेश रिजाल उद्योग वाणिज्य तथा आपूर्ति र सीता गुरुङ शहरी विकासमन्त्री बन्ने भएकी छन् ।

साथै जनता समाजवादी पार्टी (जसपा)को सिफारिसमा अशोक राई शिक्षा विज्ञान तथा प्रविधिमन्त्री बन्ने भएका छन् । एकीकृत समाजवादीबाट उपाध्यक्ष बेदुराम भुसाल कृषि तथा पशुपक्षी विकास र उपमहासचिव प्रकाश ज्वाला भौतिक पूर्वाधार तथा यातायातमन्त्री बन्ने तय भएको छ । 

त्यैगरी लोसपाबाट शरद्सिंह भण्डारी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बन्ने भएका छन् भने नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री, नेपाल समाजवादी पार्टीका महिन्द्र राय यादव महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री बन्ने भएकी छन् । 

सरकारको नेतृत्व गरिरहेको दल नेकपा माओवादी केन्द्रबाट भने नारायणकाजी श्रेष्ठ  उपप्रधान तथा गृहमन्त्री बन्ने भएका छन् ।  यसअघि पूर्वाधारमन्त्री भएका उनलाई गृह मन्त्रालयको जिम्मेवारी दिइएको हो। साथै शक्ति बस्नेत ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री बन्दा रेखा शर्मा सञ्चार तथा सूचना प्रविधिमा र सुदन किराती संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री र अमनलाल मोदी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीमा कायम हुनेछन् ।

सत्ता साझेदार दलमा अझै ५ मन्त्रालयको भागबण्डा हुन बाँकी रहेको छ । जसमा कानुन, न्याय तथा संसदीय मामिला, परराष्ट्र, वन तथा वातावरण, स्वास्थ्य तथा जनसंख्या र युवा तथा खेलकुद मन्त्रालय रहेका छन् ।

Logo