नवनियुक्त उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले देशभित्र राष्ट्रिय हित कुण्ठित हुनेगरी कुनैपनि गतिविधि गर्न नदिन निर्देशन दिएका छन् ।
शुक्रवार मन्त्रालयमा पदबहालीपछि मातहतका सुरक्षा निकाय र कर्मचारीहरुलाई गृहमन्त्री श्रेष्ठले राष्ट्रिय सार्वभौमिकता र राष्ट्रिय हीत कुण्ठित हुनेगरी कुनै काम गर्न नदिन निर्देशन दिएका हुन् । उनले सीमा सुरक्षामा अब्बल साबित हुनेगरी काम गर्न सुरक्षा निकायलाई निर्देशन दिए ।
उनले राष्ट्रिय सार्वभौमिकता र भौगोलिक अखण्डताको रक्षा गर्ने आफ्नो पहिलो कर्तव्य ठानेर काम गर्न आग्रह गरे ।
मन्त्री श्रेष्ठले नागरिकहरुको शान्ति, सुरक्षा र अमनचयनमा मन्त्रालयको तर्फबाट कुनैपनि कमजोरी हुनुनहुने बताए । उनले शान्ति सुरक्षा कायम गर्न मन्त्रालयको तर्फबाट कुनैपनि नकारात्मक परिणाम आउन नदिन सचेत गराए । आम सर्वसाधारणले स्वतन्त्रतापूर्वक जीवनयापन गर्न, हिँड्डुल गर्न, व्यवसाय गर्न र संविधानले दिएको अधिकार उपभोग गर्न पाउनुपर्ने भन्दै त्यसमा पनि कमी कमजोरी हुन नदिन उनले निर्देशन दिए ।
उनले देशका सच्चा नागरिकले छिटोभन्दा छिटो नागरिकता पाउने कुरालाई सुनिश्चित गर्ने बताए । उनले नागरिकलाई नागरिकताको प्रमाणपत्र दिन ढिलाइ नगर्ने बताए ।
मन्त्री श्रेष्ठले महिला हिंसा अन्त्य गर्न नयाँ ढंगले तिब्रताका साथ अघि बढ्नुपर्ने भन्दै सोही अनुरुप कार्ययोजना बनाउन निर्देशन दिएका छन् । त्यस्तै भ्रष्टाचारमा आफूले शुन्य सहनशिलता अपनाएको भन्दै भ्रष्टाचारको छिटा कतै पर्न नदिन मातहतका कर्मचारीहरुलाई आग्रह गरे । अपराधको नियन्त्रण गर्ने सन्दर्भमा अपराधीलाई दण्डित गर्न कुनै पनि प्रकारको उदारता नअपनाउन र सम्झौता नगर्न चेतावनी दिए । उनले जेललाई यातना गृहको रुपमा नभई सुधार गृहको रुपमा लिनुपर्ने भन्दै जेल सुधारको योजना बनाउन पनि निर्देशन दिए ।
उनले सुरक्षा निकायलाई हस्तक्षेप मुक्त बनाइने बताए । सुरक्षा निकायले कुनैपनि प्रकारको दबाबमा काम गर्नु नपर्ने उनको भनाई छ । सुरक्षा निकायको पेशागत प्रतिष्ठा कायम गरिने उनले उल्लेख गरे ।
मन्त्री श्रेष्ठले अध्यागमन विभाग र अध्यागमन कार्यालयलई अझै व्यवस्थित र प्रभावकारी बनाइने बताए । उनले विगतका सरकारले विभिन्न पक्षसँग गरेका सम्झौताहरुको स्वामित्व सरकारले लिने भन्दै ति सम्झौताहरु कार्यान्वयनमा ध्यान दिइने बताए ।































प्रतिक्रिया